कालापानी र लिपुलेकको भारतीय हस्तक्षेप अस्वीकार्य : प्रचण्ड
दाङ, कात्तिक २० : नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी र लिपुलेकमाथिको भारतीय हस्तक्षेप अस्वीकार्य हुन....

दाङ, कात्तिक २० : नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी र लिपुलेकमाथिको भारतीय हस्तक्षेप अस्वीकार्य हुने बताएका छन्।
बुधबार बिहान दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसलाई कुटनीतिक तवरबाट हल गरिने बताए।
हालै भारतले कालापानी र लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गरेको छ। नयाँ नक्सामा नेपाली भूभागलाई भारतमा देखाएको छ। यसबारे सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘यसबारेमा मैले पूर्ण रुपमा बुझन पाएको छैन तर भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन। सीमाका विषयमा हामी कुनै पनि किसिमको सम्झौता गर्ने पक्षमा छैनौं।’
आफ्नो भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुरा गरेको प्रचण्ले बताए। लिपुलेकबारे यस अघि नै असहमति जनाएको उल्लेख गर्दै उनले भने, ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन। सरकारले तत्काल यस विषयमा कूटनीतिक पहल गर्नेछ।’
एक अर्को प्रश्नको जवाफमा उनले प्रदेश ५ को राजधानी दाङ बन्ने बताए। भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने उनको भनाइ थियो।
प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको प्रचण्डीको भनाइ थियो।
उनले निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिए। ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ, सबै मिलेर यसलाई सफल बनाउनुपर्छ,’ प्रचण्डले भने।
कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड दाङ पुगेका हुन्। उनीसँगै पूर्वसभामुख एवं नेकपा नेतृ ओनसरी घर्ती, प्रदेश ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ पुगेका छन्।











