Kathmandu Press

प्रदेश प्रमुखको बर्खास्ती कम्युनिष्ट सत्ताको असफल दिशा : कांग्रेस

काठमाडौं, कात्तिक १९ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश प्रमुखहरु बर्खास्त गर्ने सरकारको निर्णय अतार्किक र कम्युनिष्ट सत्ता असफल दिशातर्फ अघि बढ....

प्रदेश प्रमुखको बर्खास्ती कम्युनिष्ट सत्ताको असफल दिशा : कांग्रेस
फाइल

काठमाडौं, कात्तिक १९ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश प्रमुखहरु बर्खास्त गर्ने सरकारको निर्णय अतार्किक र कम्युनिष्ट सत्ता असफल दिशातर्फ अघि बढेको जनाएको छ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रदेश प्रमुहरुलाई अशोभनीय रुपमा हटाउनु सहमतिको राजनीतिलाई थप विथोल्ने प्रयत्न गरिएको जनाएको छ।

‘प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ।’

बैठकले सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछँदै प्रदेश प्रमुख हटाउने विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पनि ठहर गरेको छ।

‘सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको छ।’  

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, कात्तिक १९, २०७६