भारतकाे नयाँ नक्सामा नेपाली भूभाग भारतमा पारिएकोमा राप्रपाको विरोध
काठमाडौं, कात्तिक १९ : भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भू-भाग भारतमा पारिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ....

काठमाडौं, कात्तिक १९ : भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भू-भाग भारतमा पारिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। सो भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ ।’
राप्रपाले भनेको छ, ‘नेपाली भूभागलाई भारतको नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ । आफ्ने भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो विषयमा गम्भीर बन्न राप्रपा सरकारसँग माग गर्दछ ।’ राप्रपाले यसको कूटनीतिक तवरबाट तत्काल प्रतिवाद गर्न सरकारसँग राप्रपाले माग पनि गरेको छ ।











