‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक

काठमाडाैं, जेठ २९ : याक्थुङ लिम्बुको इतिहास, भाषा, संस्कार, संस्कृतिका विषयमा जानकारी दिन ‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक गरिएको छ।
अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीले पुस्तक लेख्नुभएको हो। २९४ पृष्ठको पुस्तकमा लिम्बुको धर्म, दर्शन, विवाह, मुन्धुम, गोर्खा सिक्किम लडाइँ, गोर्खा लिम्बुवान लडाइँ, लिम्बु र सिक्किमको सम्बन्ध, याक्थुङ्बा लिम्बु र सेनसँगको सम्बन्ध, दशलिम्बुका केही नीतिहरू, दसलिम्बु, याक्थुङलगायत विषयका सामग्री समावेश गरिएको छ।
तेजेन्द्र कुरुम्बाङ्ले प्रकाशन गर्नुभएको पुस्तकको मूल्य रु ६५० तोकिएको छ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले आज याक्थुङ कुरुङवाङ सङ्जुम्बोको आयोजनामा भएको कार्यक्रममा पुस्तक विमोचन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक अहिलेको अवस्थामा आइपुग्नुमा विभिन्न जातजाति, भाषाभाषीको योगदान रहेकाले यसलाई भुल्न नहुने बताउनुभयो। सबैको भाषा, संस्कृति बुझेर चिनारी गरिनुपर्ने उनको भनाइ थियो।
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले लिम्बुको इतिहास लेखनमा पुनर्जागरण भएको बताए। खोज, अनुसन्धान गरी लेखिएका पुस्तकले विगतका कमी कमजोरी सच्याउन सहयोग पुग्ने उनको भनाइ थियो। पूर्वराज्यमन्त्री सीता गुरुङले नेपालको पूर्वी भागमा लिम्बुकै इतिहासको महत्व रहेको बताए। लिम्बु जातजातिका थप इतिहासको खोजी गरी प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने उनको विचार थियो।
पुस्तकका विषयमा समीक्षा गर्नुहुँदै प्रा बालकृष्ण माबुहाङ र मदन पुरस्कार विजेता भगीराज इङ्नामले नेपालमा बसोवास गर्ने प्रत्येक जातजातिका विषयमा यस्ता खोजपूर्ण पुस्तक सार्वजनिक गरिनुपर्नेमा जोड दिए। लिम्बु जातिका विभिन्न पक्षका विषयमा खोज गरी लेखिएको पुस्तक उपयोगी हुने उनीहरुले बताए।












