Kathmandu Press

'बागी' लाई टिकट दिँदा नेकपाभित्र भाँडभैलो

काठमाडौं, कात्तिक १९ः गत निर्वाचनमा वाम गठबन्धनका उम्मेद्वार हरिशरण लामिछानेविरुद्ध बागी उम्मेद्वारी दिएका साविक माओवादीकेन्द्रका देवीप्रसाद (डीपी) ढक....

'बागी' लाई टिकट दिँदा नेकपाभित्र भाँडभैलो
फाइल फोटो

काठमाडौं, कात्तिक १९ः गत निर्वाचनमा वाम गठबन्धनका उम्मेद्वार हरिशरण लामिछानेविरुद्ध बागी उम्मेद्वारी दिएका साविक माओवादीकेन्द्रका देवीप्रसाद (डीपी) ढकाललाई नेकपाले उपचुनावमा प्रदेशसभामा उम्मेद्वार बनाएपछि पार्टीभित्र भाँडभैलो भएको छ ।

ढकालको उम्मेद्वारीका बाबजुद चुनाव जितेको एमाले पक्ष अहिले ढकालविरुद्ध खनिएको छ । ढकाललाई टिकट दिने निर्णयविरुद्ध भक्तपुरका साविक एमाले जिल्ला नेताहरूले पार्टी कार्यालयमै तालाबन्दी गरेका छन् । माओवादी पक्षले भने उक्त कार्य चाँगुनारायणका मेयरसमेत रहेका साेम  मिश्रकाे डिजाइनमा भएकाे आराेप लगाएकाे छ ।

२०७४ मंसिर २१ को प्रदेशसभा निर्वाचनमा भक्तपुर १ (क) बाट साविक एमाले उम्मेद्वार हरिशरण लामिछानेले १३ हजार ७८९ मत पाएर विजयी भएका थिए । वाम गठबन्धनका उम्मेद्वार लामिछानेविरुद्ध खडा भएका बागी उम्मेद्वार ढकालले जम्मा ७९२ मत मात्र पाएका थिए । अहिले नेकपाले उनैलाई उम्मेद्वारी दिएपछि पार्टीभित्र हल्लिखल्ली भएको छ ।

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि उनै विद्रोही उम्मेद्वार ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् । प्रदेशसभामा विजयी हरिशरण लामिछानेको बीचैमा मष्तिष्कघातका कारण मृत्यु भएपछि सोही क्षेत्रमा चुनाव हुन लागेको हो । पूर्वमाओवादी ढकाल वर्षमान पुन अर्थमन्त्री भएका बेला उनका स्वकीय सचिव थिए ।

एमालेले भक्तपुर जिल्लाको इतिहासमै पहिलोचोटी ०७४ सालमा चुनाव जितेको हो । अहिलेको उपचुनावमा साविक एमालेले रमेश बुढाथोकीलाई उम्मेद्वार बनाउन चाहेको थियो । बुढाथोकीलाई टिकट दिन केन्द्रीय सदस्यसमेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रलगायतले ‘लविङ’ गरेका थिए तर यसविपरीत ढकाललाई नै टिकट दिएपछि भक्तपुरमा विद्रोहको ज्वाला विष्फोट भएको हो ।

उम्मेदवारका लागि भक्तपुर जिल्ला कमिटीले डीपी ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीमा पठाएको थियो । प्रदेश कमिटीले भने ढकाल, रमेश बुढाथोकी, मोहनबीर श्रेष्ठ र नारायण फुयाँलको केन्द्रमा पठाएको थियो । 

उक्त क्षेत्रमा अहिले मतदाताको संख्या ४५०३६ रहेको छ। जुन गत निर्वाचनको भन्दा १४८६ ले बढी हो । उक्त  क्षेत्रमा एमाले उम्मेद्वार हरिशरण लामिछानेले १३ हजार ७८९ मत पाएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी का‌ंग्रेसका जीवन खत्रीले ९९७७ मत पाएका  थिए । नेमकिपाका  निरब लबजूले ७०१९ मत पाएर तेस्राे भएका  थिए ।  वाम गठबन्धनविरुद्ध उम्मेद्वार बनेका ढकालले जम्मा ७९२ मत मात्र पाएका थिए ।

भक्तपुर १(क)को प्रदेशसभा उपनिर्वाचनलाई लिएर नेकपाभित्र बहस नै सुरु भएको छ । नेकपा कार्यकर्ता किरण देउजाले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै भनेका छन्, ‘जहाँ तालमेल नै हुन सकेन, जसले १००० मत समेत कटाउन सकेन, उसैलाई टिकट दिएको छ। त्यहाँका जमनतको अवमूल्यन हो, नेकपा डबलको सचिवालयको निर्णयलाई त्यहाँका जनताहरुले धोती लगाईदिनुपर्छ। जनताले नरुचाएका उम्मेदवारलाई धुलो चटाउदै एकताको नाममा भागबन्डा खोज्नेलाई सबक सिकाउन पर्छ।’

अर्की युवा उषाकिरण तिमिल्सिनाको टिप्पणी छ, ‘ यहाँ डिपीजी उठ्नैपर्ने कारण थिएन । आफुले पाएको भोटकै आधारमा नउठ्ने निर्णय गर्नु पर्ने थियो ।’

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, कात्तिक १९, २०७६