Kathmandu Press

राष्ट्रपतिबाट नव नियुक्त सातै प्रदेश प्रमुखले लिए सपथ

काठमाडाै‌ं, कात्तिक १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त सातै प्रदेश प्रमुखलाई आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनिय....

राष्ट्रपतिबाट नव नियुक्त सातै प्रदेश प्रमुखले लिए सपथ

काठमाडाै‌ं, कात्तिक १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त सातै प्रदेश प्रमुखलाई आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाएकी छन्।

राष्ट्रपति भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश २ का तिलक परियार, प्रदेश ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश ५ का धर्मनाथ यादव, कर्णाली प्रदेशका गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।

प्रदेश प्रमुखको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिनालगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीको उपस्थिति थिए।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सातै जनालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। जसअनुसार, राष्ट्रपतिले प्रदेश प्रमुखका रुपमा नियक्त गरेकी हुन्। मंगलबार सपथ ग्रहणसँगै उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

यस अघि सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि उनीहरुको नाम छनोट गरेको थियो। जसमा पूर्वएमालेबाट चार र पूर्वमाओवादी केन्द्रबाट तीन जना रहेका छन्।

आइतबार सरकारले यस अघि शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले सातै जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।

प्रकाशित मिति: १०:४७ बजे, मंगलबार, कात्तिक १९, २०७६