उपचारपछि ४० यात्रु घर फर्के, नाै अस्पतालमै
बनेपा, कात्तिक १९ : सुनकोशी बस दुर्घटनामा घाइते भएकामध्ये ४० जना उपचार गरेर घर फर्केका छन् भने अझै नौ जनाको उपचार भइरहेको छ।
आइतबार सिन्धुपा....

बनेपा, कात्तिक १९ : सुनकोशी बस दुर्घटनामा घाइते भएकामध्ये ४० जना उपचार गरेर घर फर्केका छन् भने अझै नौ जनाको उपचार भइरहेको छ।
आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ४९ जना घाइते भएका थिए।
दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ लाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४० जना उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, चार जनालाई भने थप उपचारका लागि काठमाडौं पठाएको छ।
अझै तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन्। तीनै जना दोलखाका हुन्।
त्यस्तै, बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो।











