Kathmandu Press

सहमति अनुसार मलेसियन सरकारले बायोमेडिकलका लागि आवेदन माग्यो

काठमाडौं, कात्तिक १८ : मलेसिया सरकारले आफ्नो देशमा आउने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले सिफारिस गरेका नयाँ ८६ स्वास्थ्य संस्थालाई....

सहमति अनुसार मलेसियन सरकारले बायोमेडिकलका लागि आवेदन माग्यो
फाइल तस्वीर

काठमाडौं, कात्तिक १८ : मलेसिया सरकारले आफ्नो देशमा आउने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले सिफारिस गरेका नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमिडलक स्वास्थ्य परिक्षणमा सहभागि हनु आवश्यक निरिक्षणको लागि आवेदन माग गरेको छ।

विभिन्न स्रोत मुलुकबाट मलेसिया रोजगारीमा आउने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले मलेसियाको अध्यागमन विभागसँग सम्बन्धित आफ्नो वेबसाइट मार्फत सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारले सिफारिस गरेका इच्छुक संस्थालाई आवेदनको लागि आह्रवान गरेको छ।

यसअघि छनोट भएर २०७२ सालदेखि मलेसिया जाने कामदारको बयोमेडिकल गर्दै आएका ३६ संस्थाहरुले भने नयाँ आवेदन दिनु नपर्ने उक्त सूचनामा उल्लेख गरिएको छ। ‘यो सूचना प्रस्ताव गरिएका ८६ स्वास्थ्य सस्थाका लागि हो’ मलेसियन सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘यसअघि काम गर्दैै आएका ३६ स्वास्थ्य संस्थाले पुन निवेदन दिनु पदैन ।’

नेपालमा हाल ३६ वटा स्वास्थ्य संस्थाले बायोमेडिकल गर्दै आए पनि थाइल्णडमा २ वटा, कम्बोडियामा २ वटा, भियतनामा ३ वटा, श्रीलंकामा ३ वटा, म्यानमारमा ४ वटा, चीनमा   ४ वटा र बंगलादेशमा १७ वटा सस्थाले मात्रै बायोमेडिकल गर्ने अनुमति पाएका छन्। 

मलेसियाले एक महिनाको समयसिमा तोकेर आवश्यक दस्तावेजहरु सहित अनलाईन मार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। नेपाल र मलेसिया सरकारबीच भएको सहमति अनुसार यो आवेदन खुला गरिएको हो। 

नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम सम्झौता भएको थियो। सम्झौतामा उल्लेख भएृ अनुसार गठन भएको दुई देशका पदाधिकारी सम्मिलित प्राविधिक समितिले थप ८६ सस्थालाई पनि प्रक्रिया पुरा गराए बायोमेडिकलको मान्यता दिलाउन सिफारिस गरेको थियो। 

याे पनि : बायोमेडिकल र भीएलएन सिन्डिकेट होइन, हाम्रो भिसा प्रणाली हो

गत सेप्टेम्बर १० देखि १२ गते सम्म मलेसियामा बसेको दुई देशका अधिकारी सम्मिलित दोस्रो संयुक्त बैठकले विगतमा मलेसियाको स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाबाट बायोमेडिकल गर्ने सहमति गर्दै कामदार पुनः मलेसिया जाने प्रक्रिया सुचारु गर्ने सहमति गरेको थियो। 

प्राविधिक समितिको निर्णय अनुसार नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट हाललाई मलेसियाको स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया आगामी नोभेम्बर पहिलो साता सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया सुरु गरेको हो। 

मलेसिया जाने कामदारको बायोमेडिकल गर्ने ८६ सस्थाहरुले नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गरेर अन्य सूचनामा तोकेको डकुमेन्टहरु सहित अनलाईन मार्फत आवेदन दिन सक्नेछन्। मलेसियन सरकारले स्वास्थ्य संस्थाका ६ वटा व्यवशायिक दस्तावेज र स्वास्थ्यसंग सम्वन्धित विभिन्न लाइसेन्स, अनुमति लगायत १० वटा दस्तावेजन पेश गर्नुपर्ने छ।  

मलेसियाका कार्यवाहक राजदूत अहमद फादिल इस्माइलले इच्छुक स्वास्थ्य संस्थाले माग गरे दूतावास सिफारिस पत्र दिन तयारी अवस्थामा रहेको बताए। नेपाल र मलेसियन सरकारबीच भएको सहमति अनुरुप प्रक्रिया अघि बढेकोमा श्रम मन्त्रालयले पनि सकारात्मक रुपमा लिएको छ । 

यसअघि मलेसियन सरकारले विदेशी कामदारलाई बायोमेडिकल स्वास्थ्य परिक्षण गर्ने निर्णय अनुसार २०७० सालमा नेपाल सरकारबाट सूचिकृत संस्था मध्ये मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक र मापदण्ड पुगेका संस्थालाई दरखास्त दिन आवेदन माग गरेर ३९ वटालाई छनोट गरेको थियो। 

१ सय ६० संस्थाले मलेसियाको स्वास्थ्य परीक्षण गर्न निवेदन दिएका थिए।  निवेदन दिएका संस्थामा मलेसियन प्रतिनिधिले अनुगमन गरेर ३९ वटा संस्था छनोट गरेका थिए। तर मलेसियाको एसओपी पुरा नगरेको र गुणस्तरमा कमी देखिएकाले ३ संस्थालाई मलेसियाले अनुमति खारेज गरेको थियो। बायोमेडिकल आईटीबेस आधुनिक स्वास्थ्य परिक्षण प्रक्रिया हो। मलेसियन सरकारले सबै देशबाट आफ्ना देशमा कामदारको रुपमा आउनेलाई बायोमेडिकल परिक्षण अनिवार्य गरेको छ। 

नेपालमा मलेसियाले ३६ वटा स्वास्थ्य संस्थाबाट बायोमेडिकल गर्दै आएपनि कतार जाने कामदारको स्वास्थ्य परीक्षण एउटै संस्था कतार भिसा सेन्टरबाट हुँदै आएको छ। साउदी अरब, ओमान तथा बहराइन जाने कामदारको स्वास्थ्य परीक्षण पनि गाम्का नेपाल अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाले मात्रै गर्दै आएका छन्। त्यस्तै अमेरिका जानेले आईओएम मार्फत स्वास्थ्य परिक्षण गराउनृ पर्ने प्रावधान छ। अन्य देश जानेहरुले पनि उक्त देशले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै परिक्षण गराउनु पर्ने हुन्छ। 

बायोमेडिकल गरेका कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट मलेसियाको अध्यागमन विभागमा पुगेपछि मात्र कामदारको कलिङ् भिसा आउने गरेको छ। विगतमा कलिङ् भिसा आउन तीन महिनासम्म लाग्ने गरेकोमा बायोमेडिकल लागु भएपछि बढीमा तीन दिनमा कामदारको कलिङ् भिसा आउन थालेको छ।

मलेसिया जाने कामदार स्वयं उपस्थित भएपछि मात्र बायोमेडिकल स्वास्थ्य परीक्षण हुन्छ। यसले यो क्षेत्रमा हुने गैरकानुनी परिक्षणलाई समेत पूर्ण रुपमा निस्तेज गरेको छ।यसअघि दुई देशबीच सम्पन्न श्रम सम्झौतामा मलेसिया जाने कामदारले गर्ने स्वास्थ्य परीक्षण, भिसा लगायतका सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने सहमति भएको छ । सम्झौता अनुसार मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नु पर्ने छैन। दुई देशबीच भएको श्रम सम्झौतालाई कार्यवाहक राजदूत फादिलले ऐतिहासिक सम्झौताको संज्ञा दिँदै सम्झौता कार्यान्वयनमा मलेसिया प्रतिवद्ध रहेको बताउदै आएका छन्। 

मलेसियाको बायोमेडिकल परिक्षण गर्ने स्वास्थ्य संस्था नेपालमा सबैभन्दा धेरै हो । नेपालमा हाल ३६ वटा स्वास्थ्य संस्थाले बायोमेडिकल गर्दै आए पनि थाइल्णडमा २ वटा, कम्बोडियामा २ वटा, भियतनामा ३ वटा, श्रीलंकामा ३ वटा, म्यानमारमा ४ वटा, चीनमा   ४ वटा र बंगलादेशमा १७ वटा सस्थाले मात्रै बायोमेडिकल गर्ने अनुमति पाएका छन्। 

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, कात्तिक १८, २०७६