सांसद आलमविरुद्ध तीन वटा कसूरमा अभियोग दर्ता
गौर, कात्तिक १८ : नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमविरुद्ध तीन वटा कसूरमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ।
जिल्ला....
गौर, कात्तिक १८ : नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमविरुद्ध तीन वटा कसूरमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले सोमबार सांसद आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको हो।
प्रहरीको रायअनुसार सरकारी वकिलको कार्यालयले सांसद आलमबाहेक अन्य ९ जनाविरुद्ध पनि अभियोग पत्र दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहविरुद्ध पनि अभियोगपत्र दायर गरेको हो। आलमबाहेक अन्य सबै फरार सूचीमा रहेका छन्।
घाइते सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद अफतावमाथि मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न मागदाबी गरिएको छ। मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, सर्लाहीका सफी अहम्मदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार तथा भण्डारण गरी विष्फोट गराएको भन्दै सांसद आलमलाई मुद्दा चलाउनु पर्ने प्रहरी प्रतिवेदनमा सुझाइएको थियो।
सांसद आलमलाई कानूनअनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुनु पर्ने माग गरिएको छ।
पहिलो संविधान सभाको निर्वाचन २०६४ चैत २७ गते साँझ साढे ६ बजे आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो। विस्फोटमा गोठभित्र ज्यान गुमाएका र घाइते भएका सबैलाई ट्याक्टरमा राखेर नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको अभियोग आलममाथि छ।






