प्रदेश प्रमुख बर्खास्तगी अनुदार लोकतन्त्रको उदाहरण : साझा पार्टी
काठमाडौं, कात्तिक १८ः साझा पार्टीले सरकारले आइतबार पाँचै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयलाई अनुदार लोकतन्त्रको उदाहरण भन्दै आलोचना गरेक....

काठमाडौं, कात्तिक १८ः साझा पार्टीले सरकारले आइतबार पाँचै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयलाई अनुदार लोकतन्त्रको उदाहरण भन्दै आलोचना गरेको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले सरकारले निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पदमुक्त गरिएको उक्त निर्णय संविधानको परिधिभित्र देखिए पनि यसले गलत नजिर स्थापित गरेको बताएका छन् ।
‘पाँच वर्षका लागि संवैधानिक रूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर(राजनीतिक कदम पनि हो। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन।’
उनले दुईतिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय भएको पनि उल्लेख गरेका छन् ।











