कालंगा जलविद्युतको सुरूङभित्र चार मजदूर वेपत्ता
बझाङ, कात्तिक १८ : कालंगा जलविद्युत आयोजनाको सुरुङभित्र चार जना मजदूर वेपत्ता भएका छन्। उनीहरू उद्धार गर्ने प्रयास दुई दिनदेखि सफल भएको छैन।

बझाङ, कात्तिक १८ : कालंगा जलविद्युत आयोजनाको सुरुङभित्र चार जना मजदूर वेपत्ता भएका छन्। उनीहरू उद्धार गर्ने प्रयास दुई दिनदेखि सफल भएको छैन।
आइतबार दिउसो ३ बजे दैलेखको गुराँस गाउँपालिकाका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिकाका महेन्द्र साउद, बझाङको बुङ्गलनगरपालिकाका शेरसिंह धामी र दिलबहादुर रानामगर सुरुङभित्र पसेका थिए। दशै–तिहारको विदापछि काम सुरू गर्नु अघि हेरविचार गर्न पाँचै जना ट्रयाक्टरमा सुरुङभित्र पसेको आयोजनाले जनाएको छ।
तर, ट्रयाक्टर चालक दिलबहादुर मात्रै फर्किएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ। अन्य चार जना बेहोस भएर सुरुङभित्रै लडेको जनाएको छ। चार जना बेहोस भएर लडेकाे र अप्ठ्यारो भएपछि आफू मुस्किलले फर्किएको उनको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ।
सुरुङभित्र वेपत्ता भएको मजदूरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दा खटिएका छन्। तर, आइतबारदेखि अझै पनि उद्धार प्रयास सफल हुन सकेको छैन।
उद्धारका लागि सुरुङभित्र छिरेपनि सफल नभएको प्रहरीले जनाएको छ। अक्सिजनको अभावले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए। उनका अनुसार, काठमाडौंबाट गोताखेरको टोली मनाइउको छ। गोताखोरको टोली हेलिकप्टरबाट आउन लागेको उनको भनाइ छ।
यो सुरुङको लम्बाइ तीन सय मिटर रहेको छ। ७५ मेगावाट क्षमताको आयोजनाको सुरुङ निर्माणका लागि नेपाली मजदूर खटिएका छन्।











