Kathmandu Press

राष्ट्र बैंकका डेपुटी गभर्नर निलम्बित

काठमाडौं, कात्तिक १८ : अनियमितता गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन गरिएको छ। छानविन समिति....

राष्ट्र बैंकका डेपुटी गभर्नर निलम्बित

काठमाडौं, कात्तिक १८ : अनियमितता गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन गरिएको छ। छानविन समिति गठनसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बित भएका छन्।

आज बिहान बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो। छानविन समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण रहेका छन्।

छानविन समिति गठन गरेपछि डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नरविरूद्ध छानबिन समिति बनेपछि स्वतः निलम्बन हुने व्यवस्था छ।

अनियमितता गरेको आरोप लागेपछि सरकारले छानविन गर्न राष्ट्र बैंक सञ्चालक समिति निर्देशन दिएको थियो।

उनले सर्वोच्च अदालतको फैसला नपुग्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा कानूनी प्रक्रिया पूरा नहुँदै विदेशी कम्पनीको लाभांस फिर्ता लैजान सहयोग गरेको आरोप लागेको छ।

छानविन समितिले आफ्नो प्रतिवेदन राष्ट्र बैंक संचालक समितिलाई दिनेछ। दोषी ठहर गरिए संचालक समितिले कारवाहीका लागि सरकारलाई सिफारिस गर्नेछ। त्यसपछि सरकारले पदमुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति: १०:५८ बजे, सोमबार, कात्तिक १८, २०७६