Kathmandu Press

महराकाे थुनछेक बहस सकिएन, आज पनि हिरासतमै

काठमाडौं, कात्तिक १७ : संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस नसकिएका ....

महराकाे थुनछेक बहस सकिएन, आज पनि हिरासतमै
फाइल फोटो

काठमाडौं, कात्तिक १७ : संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस नसकिएका कारण सोमबार पनि जिल्ला अदालत, काठमाडौंमा जारी रहने भएको छ । महरा आइतबार पनि प्रहरी हिरासतमै रहने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसमा सबै कानून व्यवसायीको बहस नसकिएपछि उनकाे मुद्दा ‘हेर्दा हेर्दै’मा राखिएको छ । बहस सोमबार पनि जारी रहने गरी  इजलास स्थगित भएको हो ।

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकालले बहस गरे । महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले बहस गरे । अब महरातर्फबाट सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायतले बहस गर्नेछन् । महराका तर्फबाट बहस गर्न चाहने कानून व्यवसायीको सूची लामो रहेको बताइएको छ ।

थुनछेक बहस सोमबार सकिएमा महरा साधारण तारेखमा रिहा हुने, धरौटीमा रिहा हुने या पुर्पक्षका लागि जेल चलान हुने आदेश हुनेछ । महरा गत १९ असोजमा पक्राउ परेका थिए । उनीमाथिको थुनछेक बहस आइतबार सुरू भएको हो ।

प्रहरीले ८ कात्तिकमै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालमा पेस गरे पनि तिहार बिदाका कारण महराको मुद्दा अदालतमा दर्ता गर्न ढिला भएको थियो । प्रहरीले २५ दिन थुनामा राखेर महरामाथिको अनुसन्धान गरेको थियो । 

प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि साढे ७ वर्ष जेल सजायसहित जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिसकेको छ ।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, कात्तिक १७, २०७६