तीन महिनामै वैदेशिक लगानी प्रतिवद्धता दोब्बर, सरकारको एक खर्ब लक्ष्य
काठमाडौ, कात्तिक १८ : चालु आर्थिक वर्ष सुरुआतमै बैदेशिक लगानी आउने क्रम दोब्बरले बढेको छ। सरकारले लगानी सम्मेलनमार्फत प्रत्यक्ष बैदेशिक लगानी भित्र्या....
काठमाडौ, कात्तिक १८ : चालु आर्थिक वर्ष सुरुआतमै बैदेशिक लगानी आउने क्रम दोब्बरले बढेको छ। सरकारले लगानी सम्मेलनमार्फत प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन आह्वान गरेसँगै लगानी प्रतिवद्धता दोब्बरले बढेको हो।
चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा १० अर्ब ७६ करोड रुपैयाँ बैदेशिक लगानी प्रतिवद्धता आएको छ। जुन गत वर्षभन्दा झण्डै दोब्बरले बढी हो। उद्योग विभागका अनुसार, ७७ परियोजनामा ११ अर्ब रुपैयाँ हाराहारीमा बैदेशिक लगानी भित्रिएको छ। गत वर्षको सोही अवधिमा चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो।
विभागका अनुसार विदेशीले पर्यटन उद्योगमा पाँच अर्ब ७७ करोड रुपैयाँको अनुमति लिएका छन्। त्यस्तै, सेवा क्षेत्रमा दुई अर्ब ७३ करोड, सूचना प्रविधिमा एक अर्ब ३० करोड, उत्पादनमूलक उद्योगमा ९० करोड, कृषि तथा वनजन्य उद्योगमा पाँच करोड रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन्।
गत आर्थिक वर्ष २०७५/७६ मा २३ अर्ब ६९ करोड रुपैयाँको मात्रै लगानी प्रतिवद्धता जनाउँदै अनुमति लगेका थिए। यसवर्ष सरकारले एक खर्ब विदेशी लगानी भित्र्याउने नीति लिएको छ। जसमा त्रिशुली ‘थ्रि ए’ तथा एमसीसी परियोजनालाई मुख्य ध्यान दिएको छ। त्रिशुली ‘थ्रि ए’मा ऋण सम्झौता गत शुक्रबारनै सम्पन्न भएको छ। जसमा जलविद्युतमा हालसम्मकै ठुलो ५० अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिनेछ।
त्यस्तै, अमेरिकी एमसीसी परियोजनाबाट पनि ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिनेछ। जुन विषय संसदमा विचाराधिन अवस्थामा रहेको छ।
सरकारी निकायको झञ्झटिलो प्रक्रियाको कारण लगानीकर्ता उत्साहित हुन नसकेको निजी क्षेत्रलगायत सरोकारवालाले गुनासो गरेपछि सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगानीमैत्री बनाएको थियो।
यता विश्व बैंकले पनि नेपालको व्यवसाय गर्ने वातावरणमा सुधार आएको उल्लेख गर्दै ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपालको अवस्था सुधारिएको जनाएको छ। विगतमा भन्दा नेपालको सूचक १६ स्थान माथि उक्लेकोे छ। ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपाल ९४औं स्थानमा आएको छ।
विश्व बैंकको सार्वजनिक गर्ने ‘डुइङ बिजनेस इन्डेक्स’ तथा अन्य ऐनमा पनि सुधारले वैदेशिक लगानी भित्रिनमा सहयोग पुग्ने नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘संसारभरका लगानीकर्ताले डुइङ बिजनेस इन्डेक्सको आधारमा लगानी गर्ने गर्दछन्, यसमा आएको सुधारले नेपालललाई सहयोग पुग्ने छ,’ गोल्छाले भने।






