महराको थुनछेक बहस आज, छुट्ने वा जेल जाने तय हुने
काठमाडाैं, कात्तिक १७ : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस हुन लागेक....
काठमाडाैं, कात्तिक १७ : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस हुन लागेको छ।
आज जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनेछ। अदालतका अनुसार, महराको थुनछेक बहस बन्द ईजलासमा हुनेछ। आजको थुनछेक बहस पनि न्यायाधीश सुदर्शन पाण्डेकै ईजलासमा हुने जनाएको छ।
निवर्तमान सभामुख महराको शुक्रबार बयान लिइएको थियो। शुक्रबार समय नपुगेपछि थुनछेक बहस आजलाई सारिएको हो।
आजको बहसपछि उनलाई थुनामा राख्ने कि रिहा गर्ने तय गरिनेछ। साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश भए आजै छुट्नेछन भने थुनामा राख्ने आदेश भए पुर्पक्षका लागि जेल चलान गरिनेछ।
जिल्ला अदालतमा दर्ता भएको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले महरालाई सात वर्ष कैद जसायको माग दाबी गरेको छ।
उनीमाथि असोज १२ गते राति संसद सचिवालयकी कर्मचारीको कोठामा गएर बलात्कार प्रयास गरेको आरोप छ। उनले भनेको नमानेपछि कुटपिट गरेको ति महिलाले बताएकी थिइन्।
त्यसपछि महरालाई असोज १९ गते पक्राउ गरिएको थियो। प्रहरी हिरासतमा बिरामी भएपछि असोज २३ गतेदेखि नर्भिक अस्पतालमा राखिएको छ। उनलाई अस्पतालबाटै अदालत लगिनेछ।






