Kathmandu Press

युवा संघ जुट्याे उपचुनावको प्रचारप्रसारमा

काठमाडौं, कात्तिक १७ः नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यालयको बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरुला....

युवा संघ जुट्याे उपचुनावको प्रचारप्रसारमा
फाइल फोटो

काठमाडौं, कात्तिक १७ः नेकपाको भगिनी संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यालयको बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरुलाई विजयी बनाउन अपील गरेको छ । 

उक्त संगठनले किरण पौडेलको नेतृत्वमा एक प्रचार÷प्रसार समिति पनि गठन गरेको जनाएको छ । समितिका सदस्यहरुमा प्रभात कटवाल, ज्ञानेन्द्र गुरुङ्, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन खड्का र प्रकाश लामिछाने रहेका छन् । 

संगठनको कात्तिक १६ गते बसेको कार्यालयको बैठकले उपनिर्वाचनका लागि सम्बन्धित जिल्लाले आवश्यक समन्वय गरी निर्वाचन परिचालन समिति बनाइने पनि निर्णय गरेको छ ।
युवासंघका सहइञ्चार्ज एवम् संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरी सार्वजनिक गरेको निर्णयअनुसार, संगठनका केन्द्रीय तहका नेताहरुलाई उपनिर्वाचनमा सक्रियतापूर्वक परिचालित हुन निर्देशन गरेको र परिचालित भएको केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्नेछ । 

आगामी डिसेम्बरमा साईप्रसमा हुने विश्व युवा संगठन (डब्लुएफडीवाई) को महासभामा भाग लिन संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा सुमन देवकोटा, सन्तोष रावल र सुन्दर भुषाल जाने निर्णय पनि गरेको छ । संघले डब्लुएफडीवाईको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भयो । 

एकता र संगठनबारे
युवा संघले संगठनका सबै तहहरुमा साविकको एक संगठनबाट संयोजक र सहइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने नीतिगत निर्णय गरेको छ । साविकका दुवै संगठनको सहमतिका आधारमा कुनै तहका हकमा फरक निर्णय गर्न पनि सकिने छ । 

प्रदेश, जिल्ला, महानगर तथा उपमहानगरहरुमा इन्चार्ज तथा सहइन्चार्ज केन्द्रिय समितिका सदस्यहरु रहने निर्णय भएको छ । 

जिल्लाको संगठनात्मक नेतृत्वमा साविकको एक संगठनको नेतृत्व हुँदा महानगर तथा उपमहानगरमा साविकको अर्को संगठनबाट संगठनात्मक नेतृत्व हुने नितिगत निर्णय गरिएको छ । साथै दुई उपमहानगर भएका जिल्लाहरुमा एक–एक उपमहानगरमा साविकका संगठनहरुले संगठनात्मक नेतृत्व गर्नेछ । 

जिल्लाको संयोजक तथा सहसंयोजक १ हप्ताभित्र साविकका संगठनहरुले टुंग्याउने निर्णय गरिएको छ । साथै संयोजक, सहसंयोजक चयन गर्दा साविकका संगठनको बरिष्ठता र सक्रियताका आधारमा चयन गरिनेछ । 

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, कात्तिक १७, २०७६