प्रतिपक्षी दल आगामी सरकार हो : देउवा
दमौली, कात्तिक १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षीसँग सहमति गरेर अघि बढे सरकारको राम्रा कामलाई समर्थन गर्न सकिने बताएका छन्।&nbs....
दमौली, कात्तिक १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षीसँग सहमति गरेर अघि बढे सरकारको राम्रा कामलाई समर्थन गर्न सकिने बताएका छन्।
दमौलीमा कांग्रेसका संस्थापक नेता गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्तको लोकार्पण कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो काम गरे भने प्रतिपक्षको पनि सहयोग पाउने बताएका हुन्।
‘विपक्षी भनेको आगामी सरकार हो,’ उनले भने, ‘विपक्षीसँग सहमति नगरिकन गरिने कामको विरोध हुन्छ ।’
कम्युनिष्ट सरकारले मात्र दुई तिहाई नपाएको भन्दै उनले मधेसवादी दलको साथमा बहुमत पाए पनि सरकारले विपक्षीलाई अवमूल्यन गर्न खोजेको आरोप लगाए । ‘नेपाल कम्युनिष्ट गर्भनमेन्ट हो तर कम्युनिष्ट स्टेट होइन’ उनले भने, ‘कम्युनिष्ट स्टेट जसरी अधिनायकवाद र सर्वसत्तावाद लाद्न पाइन्न ।’
देउवाले डर र त्रास देखाएर अभिव्यक्ति स्वतन्त्रता र नागरिकका हकमाथि सरकारले नियन्त्रण गर्न खोजेको भन्दै काग्रेस सधैं त्यसको विरोधमा उत्रने चेतावनी दिए।
‘हामी सात सालदेखि राणा, पञ्चायत, ज्ञानेन्द्रको कु सबैसँग नागरिकको अधिकार र प्रजातन्त्रका लागि लडेका हौं, ’उनले भने, ‘प्रजातन्त्र र नागरिक स्वतन्त्रतासँग कुनै हालतमा सम्झौता गर्न सकिन्न।’
उक्त कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त्रास देखाएर प्रतिपक्षी आवाजलाई दबाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने बताए । ‘हामी निर्धा र स्वतन्त्रताको पक्षमा छौं, ’उनले भने, ‘अदालत, अख्तियार वा संवैधानिक अंग लगाएर तर्साउने काम नहोस्।’
पौडेलले सरकारले विभिन्न बहानामा मुद्दा लगाएर कांग्रेसका नेता कार्यकर्तालाई फसाउन खोजेको भन्दै यस्ता कार्य तत्काल रोक्न खबरदारी पनि गरे। ‘गिरिजाबाबुले भनेको ग्रयाण्ड डिजाइन यहाँ फेरि हुँदैछ,’ उनले भने, ‘कांग्रेस सक्याउन खोजिएकाले हामी सचेत हुने बेला आएको छ।
महामन्त्री डा. शशांक कोईरालाले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए । उनले पार्टीका कार्यकर्ता सक्षम र नेतृत्व लिन सक्ने भन्दै एकता भएका खण्डमा पार्टीले कहिल्यै नहार्ने बताए । उनले एक भएर पार्टीलाई फेरि सत्तामा पुर्याउने घोषणा गरे । ‘हामी एक भएर फेरि कांग्रेसलाई सत्तामा पुर्याउनेछौं, ’उनले भने।
स्वर्गीय पोखरेलका पुत्र संविधान सभासद रामचन्द्र पोखरेलले लामो इतिहास बोकेका पोखरेलको योगदान समेटेर गोवद्र्धन शर्मा पोखरेल स्मृति ट्रस्टमार्फत पुस्तक ल्याएर त्यतिबेलाको इतिहास सबैमाझ पु¥याउन खोजिएको बताए।






