स्वास्थ्यबारे ब्रिफिङ गर्दै प्रधानमन्त्रीले भने- अब नियमित डायलासिस गर्नुपर्ने भयो
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराएका छन्।
प्रधानमन....
काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य बाहिर आएजस्तो गम्भीर नभएको बताएका हुन्। तर, प्रधानमन्त्री ओलीले मिर्गौलामा समस्या देखिएकाले अब नियमित डायलासिस गर्नु पर्ने अवस्था आएको बताएका थिए।
बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले १२ वर्षअघि प्रत्यारोपन गरेको मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका थिए। उनले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताएको ती सचिवालय सदस्यले काठमाडौंप्रेसलाई जानकारी दिए।
‘प्रधानमन्त्रीज्यूले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नु भयो। ब्रिफिङका क्रममा उहँले मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पताल पुगेर दुई पटक डायलासिस गराएको बताउनु भयो,’ उनले भने।
प्रधानमन्त्री ओलीले स्वास्थय परीक्षणका केही रिपोर्ट आउन बाँकी रहेको बताएका थिए। ‘अझै केही रिपोर्ट आउन बाँकी छ। त्यो रिपोर्ट हेरेर चिकित्सकहरुले थप निर्णय गर्ने छन्, नियमति डायलाडिस वा प्रत्यारोपन गर्नेबारे,’ प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए।
प्रधानमन्त्री ओलीले शनिबार वा आइतबार फेरि एक पटक डायलासिस गराउने बताएका थिए।
सचिवालयको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य बाहिर आएजस्तो गम्भीर नभएको बताए।
उनले प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराएको बताए। ‘प्रधानमन्त्रीज्यूले आफू सिकिस्त बिरामी नभएको बताउनु भयो। केही रिपोर्ट आउन बाँकी रहेकाले थप उपचारबारे त्यसपछि मात्रै थाहा हुनेछ भन्नु भएको छ,’ श्रेष्ठले भने।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्ला केही वर्षदेखि समस्या देखिँदै आएको छ। प्रधानमन्त्री ओलीले यसअघि गत भदौंमा सिंगापुर पुगेर उपचार गराएका थिए।






