दाङमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
लमही, कात्तिक १५ : दाङमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ट्याक्टरमा सवार अन्य २३ जना घाइते भएका छन्।&nbs....
लमही, कात्तिक १५ : दाङमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ट्याक्टरमा सवार अन्य २३ जना घाइते भएका छन्।
गढवा गाउँपालिका–६ मनिकापुरबाट शुक्रबार दिउँसो वनभोज खाएर फर्कदै गरेको रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली कोइलावास सडकको चिसापानी नजिकै पल्टिँदा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।
ट्रली पल्टिँदा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते अन्य २३ जनाको स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचार भइरहेको छ। तिहारमा खेलेको भैलोबाट संकलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






