Kathmandu Press

अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबारमात्रै

काठमाडौं, कात्तिक १५ : संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर....

अदालतमा महराको बयान सकियो, थुनछेक बहस आइतबारमात्रै
फाइल

काठमाडौं, कात्तिक १५ : संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिने काम सकिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिने काम सकिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

बयान लिने काम सकिएपनि महरामाथिको थुनछेक बहस भने आइतबारमात्रै हुने कार्कीले बताए। उनका अनुसार बयान लिन लामो समय लागेकाले शुक्रबारै थुनछेक बहस हुन नसकेको हो। 

महरालाई थुनछेक बहसका लागि आइतबार बिहान १० बजे अदालतमा उपस्थित गराउन न्यायाधीश पाण्डेको इजलासले निर्देशन दिएको छ। थुनछेक बहसपछि मात्रै अदालतले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्ने निर्णय लिनेछ। 

यसअघि बिहीबार सरकारी वकिलको कार्यालयले महरालाई जबरजस्ती करणी उद्योग गरेको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा दायर गरेको थियो।

पूर्वसभामुख महराले भने बयानका क्रममा आफू ती महिलाको डेरा नजिक पुगेपनि घरभित्र नछिरेरै फर्किएको बताएका छन्। ‘ती महिलाको डेरा नजिक पुगेको हुँ। तर, सम्पर्क नभएपछि डेराभित्र नछिरेर फर्केको हुँ,’ उनले बयानका क्रममा भनेका छन्।

महरा बलात्कारको प्रयास गरेको आरोपमा गत १९ असोज गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए। सुरुमा महरालाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएपनि स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा राखिएको हो।
 

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, कात्तिक १५, २०७६