जबज नै नेकपाको मार्गदर्शक सिद्धान्त : गौतम
काठमाडौं, कात्तिक १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्था....

काठमाडौं, कात्तिक १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताएका छन्।
मदन भण्डारी फाउण्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने सकिने बताएका हुन्।
उनले अहिले मुलुकमा समाजवाद निर्माण गर्ने उपयुक्त विचार के हुन सक्दछ भनेर छलफल भइरहेकाले अन्य दार्शनिकका विचारले नभई नेपालमै बनाइएको विचारले मुलुकलाई निकास दिने बताए।
‘हामीले हाम्रै मुलुकमा विकास भएको विचारधारालाई टेकेर समाजवाद स्थापना गर्ने हो’, उनले भने,‘माक्र्सवाद र लेनिनवाद दर्शनसम्बन्धी विचार हुन्। यी विचारले हाम्रो देशलाई ठोस निकास दिँदैनन्।’
पार्टी एकीकरण गर्दा भएका सहमतिअनुसार नै पार्टीको विचारलाई अवलम्बन गरिने उनको भनाइ छ। आगामी एकता महाधिवेशनसम्म पार्टीको विचार कुन हुने भन्नेबारेमा निष्कर्ष निकाल्ने भन्दै गौतमले जनताको बहुदलीय जनवाद (जबज) लाई अगाडि सार्ने हो भने सुनभन्दा नि पक्का सुन हुने बताए।
‘पार्टी एकतामा अर्को शक्तिलाई पनि सम्मान गरेर जानु पर्दछ’उनले भने,‘सम्मान गर्नका लागि जबज र २१ औँ शताब्दीको जनवादलाई परिमार्जन गरेर पार्टीका आधिकारिक विचारधारा निर्माण गर्ने छौँ।’ उनले पार्टी एकतालाई ख्याल गरेर फाउण्डेशनले मदन भण्डारीको विचारलाई अगाडि सार्नुपर्ने बताए। रासस











