नेविसंघमा ३२ वर्षमुनिको नेतृत्व ल्याउन माग गर्दै कांग्रेस मुख्यालयमा प्रदर्शन
काठमाडौं, कात्तिक १५ : ३२ वर्षमुनिको नेतृत्व ल्याउन माग गर्दै नेविसंघका नेताहरुले पार्टी कार्यालय सानेपामा नाराबाजीसहित प्रदर्शन गरेका छन्। ....

काठमाडौं, कात्तिक १५ : ३२ वर्षमुनिको नेतृत्व ल्याउन माग गर्दै नेविसंघका नेताहरुले पार्टी कार्यालय सानेपामा नाराबाजीसहित प्रदर्शन गरेका छन्।
पार्टी नेतृत्वले विधान विपरीत ३२ वर्षमाथि उमेर समूहको नेतृत्व ल्याउन खोजेको भन्दै नेविसंघका नेताहरुले शुक्रबार पार्टीको कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा पार्टी कार्यालय पुगेका नेविसंघका नेताहरुले नाराबाजी गरेका थिए। उनीहरुले ‘टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन्।

उनीहरुले विधान विपरीत नेविसंघको नेतृत्व ल्याउन खोजेकाले आफूहरु विरोधमा उत्रिएको बताएका थिए। प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरुले पार्टीले विधानविपरीत नेतृत्व ल्याए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन्।
नेविंसघको नेतृत्वमा बुबा समानका व्यक्तिलाई ल्याउन खोजिएको विरोधमा आफूहरु प्रदर्शनमा उत्रिएको नेविसंघ नेता मनिष सिम्खडाले बताए।
‘विधानमा३२ वर्ष उमेर समूहभित्रको नेतृत्व चयन हुने व्यवस्था छ। तर, पार्टी नेतृत्वले त्यो विपरीत नेतृत्व चयन खोजेकाले हामी त्यसको विरोधमा उत्रिएका हौं,’ उनले भने।
उनले विधान विपरीत नेतृत्व ल्याइए आमरण अनशन बस्न आफूहरु तयार रहेको बताए।

पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघका पुराना नेता राजीव ढुंगानालाई तदर्थ समितिको संयोजक बनाउने तयारी गरेका छन्। सभापति देउवाको यस्तो तयारी पछि नेविसंघका नेताहरु विरोधमा उत्रिँदै आएका छन्।











