विजेताले ३० लाख पुरस्कार पाउँने
काठमाडौं, माघ २४ : धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणका विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउँने भएको छ । माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीम....

काठमाडौं, माघ २४ : धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणका विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउँने भएको छ । माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा डिपिएल हुँदैछ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पनि पुरस्कार सर्वाधिक धनराशिको रहने बताए । उनले २० प्रतिशत बढाएर कूल पुरस्कार राशि ६० लाख बनाएको बताए । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुने टोलीले दुई लाख पाउने छन् ।
आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न समितिले पनि आआफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्”, उनले भने ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्इसीसी)बाट मान्यता प्राप्त प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्ग्सको सहभागिता रहने छ । सबै टोलीमा १२ खेलाडी ‘अक्सन’बाट लिइएका छन् ।
प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ ।
यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न पाँच करोड लाग्ने आयोजकको अनुमान छ । पहिलो संस्करणको डिपिएलको बजेट एक करोड ८२ लाख थियो भने कूल पुरस्कार २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करणमा रु तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुरस्कार प्रदान गरिएको थियो ।
यस्तो छ खेल तालिका
पहिलो खेल माघ २६ गते शनिबार दिउँसो १ बजे शुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ । प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकापसमा एक/एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
दोस्रो संस्करणमा झैँ यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप एक÷एक लाखको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गत वर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजु खड्का तथा अर्जुन खड्का स्मृति सम्मानबाट राखेपका पूर्वप्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए ।
अस्थायी प्यारापिट निर्माण
प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । दर्शकका लागि टिकटदर लिग चरणमा ५०, प्ले–अफमा ७० र फाइनलमा एक सय रुपैयाँ तोकिएको छ ।
टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ । दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ, कर्णाली रिभर यातायात सङ्घ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि क्लबले गत पुस २१ गते अक्सनबाट १२ खेलाडी लिइसकेका छन् भने तीन÷तीन विदेशी खेलाडीसमेत अक्सनपछि अनुबन्ध गरिसकेका छन् । अक्सनमा सहभागी दुई सय पाँच खेलाडीमध्ये ७२ खेलाडी बिक्री भएका थिए । अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरीदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार, सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले नौ लाख ९० हजार तथा दीपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले नौ लाख खर्च गरेका थिए ।
अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका थिए । यस्तै यस पटक प्रदीप ऐरी रुपन्देहीमा दुई लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा दुई लाख ३० हजार, रोहित पौडेल दुई लाख ३० हजार र भुवन कार्की अत्तरियामा दुई लाख १० हजारमा अनुबन्धित भएका थिए ।










