Kathmandu Press

बालबालिकाका लागि ‘बलियो नेपाल’ अभियान सुरू

काठमाडौं, कात्तिक १५ : बालबालिकालाई पोषणयुक्त खाना पुर्‍याएर बाल स्वास्थ्य सुचकमा सुधार गर्ने उद्देश्यले ‘बलियो नेपाल अभियान’को सुरुवा....

 बालबालिकाका लागि ‘बलियो नेपाल’ अभियान सुरू

काठमाडौं, कात्तिक १५ : बालबालिकालाई पोषणयुक्त खाना पुर्‍याएर बाल स्वास्थ्य सुचकमा सुधार गर्ने उद्देश्यले ‘बलियो नेपाल अभियान’को सुरुवात भएको छ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विषेश समारोहकाबीच उक्त अभियानको शुभारम्भ गरेकी छन्। 

राष्ट्रपति भण्डारीले बलियो नेपाल अभियानले बालबालिकाको स्वास्थ्यमा सुधार हुने आशा आफूले गरेको कार्यक्रमको शुभारम्भ गर्नेक्रममा बताइन्। 

‘हाम्रो संविधानले नै बालबालिकालाई पोषणयुक्त खानाको सुनिश्चितता गरेको छ’ भण्डारीले भनिन्, ‘तर पनि अझै हाम्रा बालबालिकाले पोषिलो खान पाएका छैनन्, यो बलियो नेपाल अभियानले बालबालिकालाई पोषणयुक्त खाना पुर्‍याउने छ भन्ने मैले आशा लिएको छु।’

राष्ट्रपति भण्डारीले बलियो नेपाल अयिभानमा दत्तचित्त भएर लाग्नु सरकार, नीजि क्षेत्र लगायत सरोकारवाला सबैलाई अनुरोध पनि गरिन्। 

विल्स एण्ड मिलेन्दा गेट्स फाउण्डेशनको आर्थिक सहयोगमा बलियो नेपाल नामक संस्थाले सुरु गरेको उक्त अभियानले पहिलो चरणमा प्रदेश नम्वर ५ मा पोषण युक्त खानाको अभियान चलाउने छ।

अभियानको मुख्य उदेश्य बालवालिकालाई स्वस्थ, सन्तुलित र पोषणयुक्त खाना खुवाउने रहेको छ। अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै बलियो नेपालका अध्यक्ष डा. स्वर्णिम वाग्लेले बालवालिकाको स्वास्थ्य सुचकमा सुधार गर्न ‘बलियो नेपाल’ अभियान पहिलो चरणमा प्रदेश ५ बाट सुरु गर्ने जानकारी दिए।

‘पोषणयुक्त खानाको अभावमा अझै पनि ३६ प्रतिशत बालवालिका होचा/पुड्का भएका छन्’ तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष वाग्लेले भने, ‘यसलाई कम्तिमा पनि १५ प्रतिशतमा झार्ने सरकारको लक्ष्यलाई सहयाेग गर्न नै बलियो नेपाल अभियान सुरु गरिएको हो।’

बलियो नेपाल घोषणा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका अतितिहरु

यो अभियान अन्तरगत विभिन्न पोषणयुक्त आहारको बास्केट सिफारिस गरिने आयोजकले बताएको छ। बलियो नेपालले अहिले प्रदेश नम्वर ५ का विभिन्न कृषि तथा अन्य खाना उत्पादक कम्पनी तथा कृषकहरुसँग पोषिलो खाना उत्पादनमा प्राविधिक सहयोग गर्दै आएको छ।

सामान्य परिवारका बच्चाले खान सक्ने मुल्यमा अण्डा तथा लिटो लगायतका सबै भिटामिनयुक्त पोषण प्याक ‘बलियो बास्केट’ अभियानले बनाउने छ। उक्त बास्केटलाई विश्वस्तरको रेटिङमा ३.५ रेट दिएको पनि डा. वाग्लेले बताए।

कार्यक्रममा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बलियो नेपाल अयिभानले आफ्नो प्रदेशमा बालवालिकाको स्वास्थ्य सुचकमा परिवर्तन ल्याउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। 

त्यस्तै, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले बलियो नेपाल अभियानले सरकारको मिलिनियम विकास लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताए। 

बलियो नेपाल अभियानले नेपाल सरकारको बुहपक्षीय पोषण कार्यक्रमको नीति अनुसारनै तयार गरिएको अध्यक्ष वाग्लेले बताए। ६ महिला अघि गैरनाफामुलुक संस्थाको रुपमा दर्ता भएको बलियो नेपालमा डा.वाग्ले अध्यक्ष छन् भने निर्वाण चौधरी, अनिलकेशरी शाह, पारस खड्का र उमा कोइराला सदस्य रहेका छन्। 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, कात्तिक १५, २०७६