निजगढ विमानस्थलको विकल्प छैन: नेपाल
निजगढ, कात्तिक १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासी....

निजगढ, कात्तिक १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका छन्।
जीतपुर–सिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विमानस्थलमा रहेका चुनौती पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताए।
वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्यन्त्र लैजाने षड्यन्त्र भएको भन्दै नेता नेपालले पैसा तथा वातावरणको बाहनामा निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल अन्यन्त्र लान नसकिने बताए। उनले कागजमा निजगढको नाम राखेर निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी वा पोखरा जाने डर आफूलाई पनि रहेको बताए।
निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई गतिदिन नेपाल सरकारले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको पनि उनले बताए। बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि उचित रहेको बताएका नेता नेपालको भनाइ छ।
सर्लाहीवासीले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सर्लाही लाने प्रयास गरिसकेका भए पनि अनन्त निजगढमा नै बन्नेमा सहमति भएको पनि नेता नेपालले बताए। नेता नेपालले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताए।
उनले मलेसिया, बैंकक, टर्की, कोरिया, जापान जहाँ गए पनि एयरपोर्ट शहरभन्दा एक घण्टा टाढा हुने गरेको उल्लेख गर्दै काठमाडौंसँगको दूरी अझै घटाउन दूर्तमार्ग पुल र सुरुङमार्गको धेरै प्रयोग गरिने बताए। नेता नेपालले वन मन्त्रालयमा पाँच वर्षदेखि रुख कटानको फाइल अड्केको बताए।











