नेपालगञ्जमा समातिएका कार्यकर्ता रिहा गर्न तरुण दलको माग
काठमाडौं, कात्तिक १५ : नेपाल तरुण दलले बाँकेको नेपालगञ्जमा समातिएका कार्यकर्ता रिहा गर्न माग गरेकाे छ।
तरुण दल नेपालगञ्ज नगरपालिका अध्य....

काठमाडौं, कात्तिक १५ : नेपाल तरुण दलले बाँकेको नेपालगञ्जमा समातिएका कार्यकर्ता रिहा गर्न माग गरेकाे छ।
तरुण दल नेपालगञ्ज नगरपालिका अध्यक्ष सन्दीपजंग शाहबाट बरामद भएको भनिएको हतियारको ‘फिङ्गर प्रिन्ट’ तत्काल जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेको छ।
बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाहलाई हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन्।
शुक्रबार बस्नेतले विज्ञप्ति जारी गर्दै प्रहरी आफैंले लगेको हतियार शाहको गाडीबाट बरामद भएको भन्दै झुठो बहाना बनाएर फसाउने र सामाजिक आतंक सिर्जना गर्ने र लोकतन्त्रवादी तरुणलाई दुःख दिने दुरासययुक्त नियतले शाहलाई पक्राउ गरेको आरोप लगाएका छन्।
अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र निर्दोष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने प्रहरीमाथि हदैसम्मको कारवाही गर्नसमेत माग गरेका छन्।
‘हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौं,’ अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो।
तरुण दलले उनीहरु शान्तिपूर्ण रुपमा आफ्नो घरायशी छलफलमा रहेकै अवस्थामा प्रहरीले विनाकारण अमर्यादित र अमानविय ढंगले पक्राउ गरेको जनाएको छ।











