पाँच वर्षभित्र यस्ताे बन्नेछ मुग्लिन-पोखरा सडक
काठमाडौं, कात्तिक १५ : एसियाली विकास बैंक (एडिबी)ले मुग्लिन–पोखरा सडक स्तरोन्नति गर्न ऋण सहयोग स्वीकृत गरेसँगै निर्माणले गति लिने भएको छ।
....
काठमाडौं, कात्तिक १५ : एसियाली विकास बैंक (एडिबी)ले मुग्लिन–पोखरा सडक स्तरोन्नति गर्न ऋण सहयोग स्वीकृत गरेसँगै निर्माणले गति लिने भएको छ।
एडिबीले बिहीबार १९ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेसँगै मुग्लिन–काठमाडौं सडक चार लेनको बन्ने प्रक्रिया सुरु भएको हो। यससँगै आयोजनाले १५ दिनभित्र ग्लोवल टेन्डर आह्वान गर्ने तयारी गरेको छ।
एडिबीका अनुसार मुग्लिन र पोखरालाई जोड्ने महत्वपूर्ण सडक काठमाडौं–पोखरा तथा भारत र बंगालादेश जोड्ने क्षेत्रीय करिडोरका रुपमा रहने छ। आयोजनाका लागि झन्डै २९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
एडिबीले मुग्लिन पोखरा सडक खण्डलाई सुरक्षित, स्तरीय र विश्वसनीय सडकको रुपमा विस्तार गर्न ऋण स्वीकृत गरेको समेत जनाएको छ।
काठमाडौंबाट दुई सय किलोमिटरको दूरीमा रहेको पोखरा पुग्न हाल पाँच घण्टाभन्दा बढी लाग्ने गरेको छ।
दुई लेनको सडकमा दैनिक औषतमा सात हजार पाँच सय सवारी आवतजावत भइरहेका छन्। सवारीको संख्या बढ्दै गइरहेको अवस्थामा सडकको स्तरोन्नति समेत अपरिहार्य रहेको एडिबीको भनाइ छ।
मुग्लिन–पोखरा सडक परियोजनाअन्तर्गत पहिलो खण्ड पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमटिर सडक चार लेनमा स्तरोन्नति गरिनेछ।
आबुखैरेनीदेखि मुग्लिनसम्मको आठ किलोमिटर दोस्रो चरणमा निर्माण गर्नेगरी अध्ययन भइरहेको समेत एडिबीले जनाएको छ। सडक विस्तारको काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सडक विस्तारपछि दुईतर्फ सात–सात मिटरको सडक बन्नेछ। एउटा लेन ३.५ मिटरको निर्माण हुने छ। ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ। दायाँबायाँ नै साँढे दुई मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ।
सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन–नारायणगढ सडक दुई लेनमा विस्तार गरेपछि विभागले एडिबीको सहयोगमा नै बुटवल–नारायणगढ सडकखण्ड पनि चार लेनको बनाउन ठेक्का लगाइसकेको छ।











