सत्तारुढ सांसद्को डेराबाट दिनदहाडै सुनचाँदी र नगद चोरी
काठमाडौँ– नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद् राजेन्द्र गौतमको काठमाडौंको डेरा दिनदहाडै चोरी भएको छ । सांसद् गौतम घरमा नभएको र उनकी पत्नी अफिस गएको मौका छोपी ....

काठमाडौँ– नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद् राजेन्द्र गौतमको काठमाडौंको डेरा दिनदहाडै चोरी भएको छ । सांसद् गौतम घरमा नभएको र उनकी पत्नी अफिस गएको मौका छोपी बिहीबार दिउँसो डेरा चोरी भएको हो ।
सांसद् गौतमले दिएको जानकारीअनुसार, सांसद् गौतम काठमाडौ महानगरपालिका वडानम्बर १०, नयाँबानेश्वर, देवीनगर (सूचना आयोगको कार्यालय) नजिकै फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले बताए ।
गौतमले दिएको जानकारीअनुसार, छ आनाको औँठी, पाँच आनाको टप, पाँच आनाको तिलहरी र एक तोलाको मंगलसुत्र चोरी भएको छ । त्यस्तै चाँदीको २१ तोलाको थाली, साढे दुई तोलाको दीयो तथा नगद एक लाख १५ हजार गरी जम्मा तीन लाख १९ हजार रुपैयाँ बराबर धनमाल चोरी भएको हो ।
महानगरीय प्रहरी वृत्त तीनकुने र नेपाल प्रहरीको सिआईबी टोलीले सांसद गौतमको घर चोरी भएपछि बिहीबारै घटनास्थल पुगेर मुचुल्का तयार पारी आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।











