Kathmandu Press

राजनीतिक दलले आयाेग गएर गरे निर्वाचन आचारसंहितामा हस्ताक्षर

काठमाडौं, कात्तिक १४ः सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आयोग गई मंसीर १४ गते हुने उपनिर्वाचनको आचार....

राजनीतिक दलले आयाेग गएर गरे निर्वाचन आचारसंहितामा हस्ताक्षर
फाइल फोटो

काठमाडौं, कात्तिक १४ः सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आयोग गई मंसीर १४ गते हुने उपनिर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाएका छन् ।

नेकपाका तर्फबाट उक्त बैठकमा सहभागी अधिवक्ता बाबुराम दाहालका अनुसार, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । 

बैठकमा नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट एनपी सावदले हस्ताक्षर गरे । समाजवादी पार्टीका तर्फबाट शिवजीप्रसाद यादवलगायत सहभागी थिए । 

बैठकमा परराष्ट्रमन्त्री समेत रहेका नेकपा निर्वाचन विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली र नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । 

‘पार्टीका तर्फबाट अध्यक्ष प्रचण्ड र सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोल्नुभो । उहाँहरूले आचारसंहिताप्रति प्रतिबद्धता जनाउनुभयो’, अधिवक्ता दाहालले भने ।

बैठकमा कांग्रेस नेता एनपी सावदले चाहिँ निर्वाचन प्रचारप्रसारका लागि आयोगले १६ दिन मात्र छुट्याएको बताउँदै उक्त समय अपर्याप्त भएको बताएका थिए । 
बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, सदस्यहरू नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल सहभागी थिए । 

मंसीर १४ गते कास्की २ मा प्रतिनिधिसभाका लागि, भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभाका लागि चुनाव हुँदैछ । यसबाहेक केही स्थानीय तहका रिक्त स्थानमा पनि मंसीर १४ गते निर्वाचनका लागि कात्तिक २७ गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, कात्तिक १४, २०७६