Kathmandu Press

छठ पर्व आरम्भ, आज नहाय खाय गरिँदै

जनकपुरधाम, कात्तिक १४ : आजदेखि छठ पर्व आरम्भ भएको छ। आज पहलिो दिन नहाय–खाय गरिँदैछ।

चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय....

छठ पर्व आरम्भ, आज नहाय खाय गरिँदै

जनकपुरधाम, कात्तिक १४ : आजदेखि छठ पर्व आरम्भ भएको छ। आज पहलिो दिन नहाय–खाय गरिँदैछ।

चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय गरिन्छ। आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ। यसैलाई नहाय-खाय भन्ने गरिन्छ।

छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन।

यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न)को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ। गम्हरीलाई साठी पनि भनिन्छ। छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने जनविश्वास रहेको छ। चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ।

आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ। चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको छ।

सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ। झट्ट हेर्दा यो सूर्यको पूजाझैँ  देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा रहेको छ।

देवी भागवतमा षष्ठी देवीले सन्तानहीनलाई सन्तान प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यो पर्व साझा समानताको पर्वका रूपमा मनाउने गरिएको छ।

आजदेखि मिथिला क्षेत्रमा छठ धुमधामसँग मनाउन सुरू भएको छ।

प्रकाशित मिति: १०:१० बजे, बिहीबार, कात्तिक १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्