Kathmandu Press

नेपालको समृद्धिमा चीन र भारतको साथ छः  प्रचण्ड

महोत्तरी, कात्तिक १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रर....

नेपालको समृद्धिमा चीन र भारतको साथ छः  प्रचण्ड

महोत्तरी, कात्तिक १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन्।

महोत्तरीको पिपरामा नेकपा महोत्तरीले बुधबार आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताएका हुन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासबारे साझा चासो व्यक्त गरेको प्रचण्डको भनाइ थियो।

नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ छ। ‘हाम्रो विकास र समृद्धिको मुख्य पक्ष कृषि नै हो”, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने,‘यस कुरालाई हृदयङ्गम गरेर नै नेकपा नेतृत्वको सरकारले तराईका फाँट-फाँटमा सिँचाइ पुर्‍याउन सुनकोशी–कमला र सुनकोशी–बाग्मती डाइभर्शन योजना अघि सारेको हो।’  

प्रचण्डले आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका जनतालाई नेकपाको पक्षमा मतदान गर्न पनि अपिल गरे। जनतासँग सधैँ आफ्नो पार्टी साथ रहने प्रचण्डको भनाइ थियो। महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा बलवा नगरपालिकाका गरी तीन वटा वडाका वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।
 

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, कात्तिक १३, २०७६