सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक
काठमाडौं, कात्तिक १३ : दशैं र तिहार सकिएसँँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै ....

काठमाडौं, कात्तिक १३ : दशैं र तिहार सकिएसँँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै बैतडीसहित दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा रहेका मठमन्दिरमा जात्रा सुरु भएको छ।
शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरका पहाडी जिल्लामा रहेका शक्तिपिठमा जात्रा लाग्ने गरेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए।
परापूर्वकालदेखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको छ। यो समयमा बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योतिर्लिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौडीस्थित त्रिवेणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ।
यस्तै, दार्चुलामा रहेको नेपालकै सातौं धामका रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ।
विभिन्न ठाउँमा रहेका देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ।











