राप्रपाले तेस्रो चरणको स्वाभिमान यात्रा गर्ने
काठमाडौं, कात्तिक १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो चरणको स्वाभिमान यात्रा गर्ने भएको छ।
सङ्गठन सुदृढीकरणका साथै पार्टीक....

काठमाडौं, कात्तिक १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो चरणको स्वाभिमान यात्रा गर्ने भएको छ।
सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यका साथ स्वाभिमान यात्रा गर्न लागिएको राप्रपाले जनाएको छ। कात्तिक २२ गते सिन्धुलीबाट शुरु हुने तेस्रो चरणको स्वाभिमान यात्रा रामेछाप, दोलखा, सिन्धुपाल्चोक हुँदै काभ्रेपलाञ्चोकमा आएर कात्तिक २४ गते समापन गरिने छ।
यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको छ भने दोस्रो चरणमा मुस्ताङबाट गोरखासम्म गरिएको स्वाभिमान यात्रामा सात जिल्लामा कार्यक्रम गरिएको पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
पार्टीले लिएका हिन्दू राष्ट्रलगायतका राजनीतिक मुद्दालाई जनस्तरमा प्रचार गरी उनीहरुको सुझाव यात्रामा सङ्कलन गरिने बर्तौलाले बताए। देशभर गर्ने लक्ष्य राखिएको स्वाभिमान यात्रा बाँकी रहेका जिल्लामा केही महिनापछि पूरा गरिने पार्टीले जनाएको छ।











