स्कुलमा वितरण भएन निःशुल्क स्यानिटरी प्याड
काठमाडौं, कात्तिक १३ : देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने सरकारले घोषणा गरेको थियो। तर, चार महिना बित्न लाग्दा पनि कुनै....
काठमाडौं, कात्तिक १३ : देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने सरकारले घोषणा गरेको थियो। तर, चार महिना बित्न लाग्दा पनि कुनै पनि स्कुलमा निःशुल्क स्यानिटरी प्याड वितरण भएको छैन।
आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेका थिए। जेठ १५ गते बजेट भाषणामा गरिएको घोषणा साउन १ गतेदेखि लागू हुने जनाएको छ। त्यसका लागि ६८ अर्ब ७८ करोड विनियोजन गरेको समेत अर्थमन्त्री डा.खतिवडाले उल्लेख गरेका थिए।
तर, चार महिना बित्न लाग्दा पनि देशका कुनै पनि सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराइएको छैन। भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क प्याड बितरण गर्न स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो। तर, मन्त्रिपरिषद्को निर्देशनपछि पनि वितरण हुन सकेको छैन।
निःशुल्क स्यानिटरी प्याड वितरणका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरिसकेको प्रवक्ता उत्तमकुमार खत्रीले बताए। ‘ढिलाइ हुनुमा हाम्रो भूमिका छैन। हामीले त माग भएजति बजेट मात्रै छुट्याइदिने हो। यसमा हाम्रोभन्दा स्वास्थ्य र शिक्षा मन्त्रालयको भूमिका बढी हुन्छ,’ प्रवक्ता खत्रीले भने।
शिक्षा मन्त्रालयले भने यससम्बन्धी कार्यविधि नबनेकाले ढिलाइ भएको जनाएको छ। अहिले कार्यविधिमा काम भइरहेको बताउँदै सूचना अधिकारी दिव्या दुवाडीले भनिन्, ‘शिक्षा मन्त्रालयले काम गरिरहेको छ। काम नसकिएकोले ढिलो भएको हो।’
यसका लागि शिक्षा मन्त्रालयले कक्षा ६ देखि १० सम्म पढाइ हुने २० हजार विद्यालय छनोट गरिसकेको उनले बताइन्।
स्वास्थ्य मन्त्रालयले स्यानिटरी प्याडको मापदण्ड बनाइरहेको जनाएको छ। यसमा काम भइरहेको बताउँदै स्वास्थ्य मन्त्रालयकि सूचना अधिकारी शिला श्रेष्ठले भनिन्, ‘कस्तो मापदण्डको प्याड बनाउँदा किशोरीलाई स्वस्थ र सहज हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ, तर मापदण्ड तयार भइसकेको छैन।’






