महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गर्छौं : मन्त्री भट्टराई
जनकपुरधाम, कात्तिक १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्र....

जनकपुरधाम, कात्तिक १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएका छन्।
बुधबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताएका हुन्। ‘पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरालगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको छ,’ मन्त्री भट्टराईले भने।
उनले सरकारले प्रदेश २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट विस्तारको योजनाका बारेमा छलफल गरिरहेको बताए। पर्यटकीय प्रवर्द्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाईमार्ग विस्तार गर्ने गृहकार्य भइरहेको उनको भनाइ थियो।
उनले सरकारले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्ने र दामोदर कुण्ड नजिकै सबैभन्दा अधिक उचाइमा विमानस्थल निर्माण गर्ने तथा सोबाट पर्यटकीय आकर्षणमा वृद्धि हुने अवधारणा कार्यान्वयनको पक्षमा गृहकार्य भइरहेको बताए।
नेपाल भ्रमण वर्ष २०२० समापन वर्ष नमानी आधार वर्षका रूपमा लिई एक दशकसम्म पर्यटन पूर्वाधार विकासका कार्यतर्फ उन्मुख हुन जरूरी रहेको उनको भनाइ थियो।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले आफ्नो मन्त्रालयमा पर्यटनका कुनै पनि कर्मचारी नभएका कारण पर्यटनसम्बन्धी विधेयक निर्माणमा जटिलता थपिँदै गएको बताए।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनिष झाले प्रदेश २ मा व्यावसायिक पर्यटनको संस्कारको विकास गर्न अभियान सञ्चालन गर्नु पर्ने बताए।











