‘न्याय पाउँछु भन्ने आश मरिसकेको थियो’
बैतडी, कात्तिक ११ : आठ वर्ष अघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजाले अन्ततः न्याय पाएकी छन्। उनले आठ वर्षपछि न्याय पाउँदा खुशी जनाएकी छन्।
<....
बैतडी, कात्तिक ११ : आठ वर्ष अघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजाले अन्ततः न्याय पाएकी छन्। उनले आठ वर्षपछि न्याय पाउँदा खुशी जनाएकी छन्।
एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी थिइन्।
पाटन नगरपालिका–१ बाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन्।
त्यतिवेला १४ वर्षकी उनी एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारमा परेकी थिइन्। त्यतिवेला जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि कुकृत्य गरेका थिए।
उनीहरु दुवैलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। सर्वोच्चको फैसलापछि पूजाले आफूले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएकी छन्। ‘न्याय पाउँछु भन्ने आश मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ,’ उनले भनिन्।
गेसपेपर किन्न गएको सम्म याद छ उनलाई र त्यसपछि के भयो भन्ने थाहा छैन। ‘गुमेको होश काठमाडौँमा उपचारपछि आयो,’ उनले त्यो घटना सम्झिन्।
जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुशी भएकी थिइन, उनी। ‘न्यायको खुशी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुपर्यो,’ उनले भनिन्।
६ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा। आमाबुवाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए। पूजाका बुवाले भने, ‘छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो। आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु।’
घरपरिवारको आर्थिक अवस्था पनि कमजोर थियो तर पनि उनले हार मानेनन्। लड्दै गए। सर्वोच्चमा लामो समय मुद्दा लम्बिँदा पूजाले धेरै व्यवधानको सामना गर्नुपर्यो।
त्यतिवेला काठमाडौंमा उनलाई रक्षा नेपाल संस्थाले सघाएको थियो। उनी ६ वर्ष रक्षा नेपालमै बसेकी थिइन्। दुई वर्षयता छात्रावासमा बस्दैआएकी छन्। अहिले कानून विषय लिएर स्नातक चौथो वर्षमा अध्ययनरत छिन्।
कलेज पढ्दा खेरि सात महिनासम्म शुल्क तिर्न नसकेको उनी सुनाउछिन्। ‘कलेजमा पनि सबै कुरा भन्नुपथ्र्यो, यस्तो समस्याबाट यहाँसम्म पुगेँ भनेर,’ उनले भनिन्। दुई वर्षदेखि घरपरिवारले र दाङको तुलसीपुर घर भई अहिले अमेरिकामा बस्दै आएकी लीला डांगीले उनलाई सघाइरहेकी छन्।
बलात्कारमा परेपछि घरपरिवार सबै छोड्नुपर्ने र गाउँ समाजमा फर्किएर सामान्य रुपले जीवन जिउन मुस्किल हुने गरेको उनी सुनाउँछिन्। अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन्, ‘न्याय दिने कुरा त छिटो गर्नुपर्छ। न्यायमा राजनीति हुनुहुँदैन।’
उनी अदालतबाट न्याय पाएर मात्रै नहुने बताउँछिन्। समाजमा पुनःस्थापना चुनौति रहेको उनको अनुभव छ। ‘घरबाहिर निस्कन समेत गा¥हो हुने गरेको छ। दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै मैले न्याय पाउँदिनँ, समाजमा पुनःस्थापनाको ग्यारेन्टी हुनुपर्छ।’
अहिले सर्वोच्चबाट न्याय त पाइन, तर यो लडाइ कम्ता गाह्रो भएन। २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई लागुपदार्थ मिसाएको मिठाइ ख्वाएर बेहोस बनाई बलात्कार गरिएको थियो। बलात्कृत बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन्।
घटनापछि प्रहरीले जाहेरी लिन मानेन्। विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिएन्। विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्यो र मुद्दा चलायो। उनका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उजूरी हालिएको थियो।
बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी उनको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो। बैतडी जिल्ला अदालतमा सागर र अमरविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।
बैतडीका जिल्ला अदालतका न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय सागर र अमरलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
बैतडी जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वयलाई निर्दोष सावित गरेको थियो। त्यो फैसला सर्वोच्च अदालतमा पुगेर उल्टिएको हो।
कात्तिक ७ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ। (रासस)






