लक्ष्मीपूजाको दिन पोहोरभन्दा कम बल्याे बिजुली
काठमाडौं, कात्तिक ११ : पोहोर सालभन्दा यस वर्षको लक्ष्मीपूजाको दिन कम विद्युत खपत भएको छ।
प्रायः तिहारको समयमा विद्युतको माग बढी हुने गरेको छ....
काठमाडौं, कात्तिक ११ : पोहोर सालभन्दा यस वर्षको लक्ष्मीपूजाको दिन कम विद्युत खपत भएको छ।
प्रायः तिहारको समयमा विद्युतको माग बढी हुने गरेको छ। यस वर्षको लक्ष्मीपूजाका दिन भने उच्च माग (पिक डिमान्ड) १०८९ मेगावाट पुगेको थियो।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड १०८९ मेगावाट पुगेको रेकर्ड गरेको हो। जबकी पोहोर साल लक्ष्मीपूजाको दिनको पिक डिमान्ड ११०५ मेगावाट थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्बलगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमान्ड नबढेको बताए।
‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौं, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ति बाल्न आग्रह गरेका थियौं, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली संचालनका लागि राम्रो हो,’ घिसिङले भने।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन स्यूचारटास्थित भार प्रेषण केन्द्र पुगेका थिए। उनीसँगै संचालकद्वय चेतराज जोशी र विश्वप्रकाश गौतम पनि केन्द्रमा पुगेका थिए।
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो। औद्योगिक ग्राहकको विद्युत माग करिब ३०० मेगावाट छ । यस वर्ष काठमाडौं उपत्यकाको पिक डिमान्ड ३३१ मेगावाट रेकर्ड गरिएको छ।
प्राधिकरकणले आफ्ना विद्युत गृहहरुबाट ५४६ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट ४३६ मेगावाट र भारतबाट १०७ मेगावाट आयात गरी १०८९ मेगावाट विद्युत् आपूर्ति गरेको हो। यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी–३ र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ।
प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत् गृहहरु पूर्ण क्षमतामा चलाइएको थियो। जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो।






