आज गाई र गोरुको पूजा गरिँदै
काठमाडौं, कात्तिक ११ : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
गाईलाई पवित्र मानी पूजा....
काठमाडौं, कात्तिक ११ : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको छ।
गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।
त्यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ।






