Kathmandu Press

प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी नबढेको बताएका छन्।

त्रिभुवन....

प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी नबढेको बताएका छन्।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग राम्रो सम्बन्ध रहेको बताए। प्रचण्डसँग दूरी बढेको छ भन्ने खबर आएका छन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘रमाइलो कुरा गर्नुभयो, काठमाडौंमा भन्दा काबुमा हुँदा टाढा भयो।’

उनी अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न राष्ट्रका प्रमुखको सम्मेलनमा भाग लिएर फर्केका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो। किनकी दूरी नै टाढा छ। त्योभन्दा अरु टाढा केही पनि छैन। दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन।’

जननेता मदनकुमार भण्डारीकै कित्तामा विगतमा आफू रहेको भन्ने अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले घुमाउरो जवाफ दिए।

उनले भने, ‘उहाँले कुन प्रसङ्गमा भन्नुभएको हो त्यो थाहा भएन तर जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूलरुपमा अघि बढाउँछु भन्नुभएको हो। भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ मलाई थाहा भएन। गणित मिलेन। हाम्रो दूरी बढेको छैन।’

उनले दुई अध्यक्षबीच दूरी बढ्यो भन्ने गणित नमिलेको बताए। उनले ब्यंग्य गर्दै भने, ‘तपाईंहरुको गणित मिलेन, दूरीको अवस्था छैन।’ प्रधानमन्त्री ओलीले अब छिट्टै पार्टी एकताको प्रक्रिया टुङ्गिने बताए।

 

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, कात्तिक १०, २०७६