आज कुकुर तिहार मनाइँदै
काठमाडौं, कात्तिक १० : यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइदै छ।
कात्ति....

काठमाडौं, कात्तिक १० : यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइदै छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको भन्ने विश्वास छ।
आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्। यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो। यसवर्ष कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार सुरू भएको हो।
तिथिको घटबढकै कारण आज बेलुकी लक्ष्मीपूजा परेको छ। बिहान चतुर्दशी भएका दिन कुकुर तिहार एवं नरक चतुर्दशी मनाउपर्छ। यसैगरी सायंकालमा औँसी तिथि भएका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मत छ।











