उल्लु हुँदैनन् उल्लुहरू
‘यो त कस्तो उल्लु रहेछ !’
हुस्सु स्वभावका व्यक्तिलाई होच्याएर उल्लु भन्ने गरिन्छ । मानौं, उल्लु त कामै नलाग्ने पंक्षी हो !
उल्लु अर्थात....

‘यो त कस्तो उल्लु रहेछ !’
हुस्सु स्वभावका व्यक्तिलाई होच्याएर उल्लु भन्ने गरिन्छ । मानौं, उल्लु त कामै नलाग्ने पंक्षी हो !
उल्लु अर्थात् लोटोकोसेरो बारे नेपाली समाजमा धेरै भ्रमहरू छन् । कतिले त यसलाई अनिष्ट वा मृत्युको सूचक मान्छन् ।
उल्लुबारे जनमानसमा व्याप्त भ्रम चिर्न र यसको महत्वबारे जनचेतना फैल्याउन यही माघ १८ र १९ गते खोटाङ जिल्लाको जाल्पामा दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सवको आयोजना गरियो ।
जाल्पाका ८१ वर्षीय जितबहादुर राईले भने, “उहिले घरछेउ लाटोकोसेरो करायो भने केही अनिष्ट हुन्छ वा कोही मर्नसक्छ भन्थ्यौँ । तर, लाटोकोसेरो त साह्रै कामलाग्ने पंक्षी पो रहेछ !”

उत्सवमा लाटोकोसेरो संरक्षणको महत्वबारे जानकारी फैल्याउने उद्देश्यले लेखिएका कथा–कविता वाचन गरिए । उल्लुका चित्र तथा मूर्तिहरु पनि प्रदर्शन गरिए ।
अरु बेला कसैले उल्लु भन्ला भनेर डराउने केटाकेटी र पाकाहरु समेत अनुहारमा उल्लुको चित्र बनाउन लाइन लागेका थिए । कोही भने प्रदर्शनीमा राखिएको उल्लुको मूर्तिसँग सेल्फी लिन व्यस्त थिए ।
उत्सवका सहआयोजक रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ का अध्यक्ष विकास राईले समेत आफ्नो आधा अनुहारमा उल्लुको चित्र बनाएका थिए । हिजो सम्म उल्लुको पनि उत्सव हुन्छ र भनेर हाँस्नेहरुले यहाँ आएर उल्लुबारे धेरै राम्रो जानकारी पाएको उनले सुनाए ।
स्थानीय सँस्कृति झल्काउने गीत–नृत्य र परम्परागत खेलहरुको प्रतियोगिताले उत्सवको रौनक बढाएको थियो । आयोजकका अनुसार,जाल्पा भित्र र बाहिरबाट आएका करिव ५ हजार आगन्तुकले उत्सवको अवलोकन गरेका थिए । 
उल्लु संरक्षणका लागि यति ठूलो उत्सव किन त ?
प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्य सरकारले उल्लु संरक्षणमा खासै ध्यान नदिएकोले उत्सव आयोजना गरिएको बताउँछन् ।
लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइन्छन् । बन, पहरा, घाँसे मैदान, कृषि क्षेत्र, बस्ती सबै खाले बासस्थानमा भेटिइन्छन् । लाटोकोसेरोको आँखा मानिसको जस्तै अगाडि फर्किएको हुन्छ । लाटोकोसेरो प्राय राति र विहान सक्रिय हुन्छन् । सानो प्रजातिलाई लाटोकोसेरो भनिन्छ भने ठूलो प्रजातिलाई हुचिल,भुन्द्रुङ वा हाप्सीलो जस्ता नामले चिनिइन्छन् ।
लाटोकोसेरोको देख्ने र सुन्ने क्षमता अत्यन्तै राम्रो हुनुका साथै यसको भुवा एकदमै नरम हुने भएकोले यो उड्दा पनि खासै आवाज आउँदैन । यसकारण, लाटोकोसेरोले राति र शान्त ठाउँमा पनि मुसाको सजिलै शिकार गर्न सक्छ । यिनीहरु शिकारी वर्गका मांसाहारी चरा हुन् । शिकार गर्नुपर्ने भएकोले यिनका पञ्जा र चुच्चो असाध्यै बलिया हुन्छन् ।
एउटा लाटोकोसेरोको परिवारले फुल पारेर बच्चा हुर्काएर उडाउने बेलासम्म करिब ३ हजार मुसा खान्छ । यसरी मुसाहरुको संख्या नियन्त्रण गरेर लाटोकोसेरोले मानिसले लगाएको धान, गहुँ, मकै र कोदो जोगाउन मद्दत गर्छ । त्यसैले, यसलाई किसानको साथी भनिन्छ । यसले मुसामात्र नभएर सर्प, भ्यागुता, बिरालो, मलसाप्रो आदि खाएर प्राकृतिक सन्तुलन कायम गर्न सहयोग गर्दै आएको छ । 
तर, धेरै मानिसहरु लाटोकोसेरोका सकारात्मक गुण प्रति अनभिज्ञ छन् । यसकारण, लाटोकोसेरोको धेरै संख्यामा चोरी शिकारी हुने गरेको छ । नेपालबाट वार्षिक कम्तीमा २००० वटा लाटोकोसेरो तस्करी हुने गरेको छ ।
प्रकृतिका साथीहरूका निर्देशक आचार्यका अनुसार, बाघ, गैंडा, भालु र हात्तीपछि सबैभन्दा बढी कुनै बन्यजन्तुको अवैध ब्यापार हुन्छ भने त्यो लाटोकोसेरो नै हो । नेपालका ३२ वटा बाटो हुँदै १४ वटा नाकाबाट लाटोकोसेरोको तस्करी गरेर भारत र चीनसम्म लैजाने गरिन्छ ।
नेपालमा बाघ, गैंडा, हात्ती लगायतका ठूला जनावरको संरक्षणमा सरकारले विशेष चासो दिएको छ । तर, लाटोकोसेरो र हुचिलजस्ता साना पंक्षीहरुको संरक्षणमा सरकारले खासै महत्व दिएको छैन । यसैले पनि लाटोकोसेरो उत्सव निकै औचित्यपूर्ण रह्यो ।
भिडियो रिपोर्ट











-(7)-1765197040.jpg)
