Kathmandu Press

प्रचण्डले भने- ओरिजनल माओवादी होइन, मलाई स्वीकार्न हिच्किचाउनु पर्दैन

मोरङ, कात्तिक ८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजनल माओवादी नभएको बताएका छन्। 

....
प्रचण्डले भने- ओरिजनल माओवादी होइन, मलाई स्वीकार्न हिच्किचाउनु पर्दैन

मोरङ, कात्तिक ८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजनल माओवादी नभएको बताएका छन्। 

तिहार र छठको अवसरमा शुक्रबार मोरङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मदन भण्डारी ओरिजनल माले नभएको जस्तै आफू पनि ओरिजनल माओवादी नभएको बताएका हुन्।

तत्कालीन मालेले मदन भण्डारीलाई महासचिवका रुपमा सहजै स्वीकारेको उदाहरण पस्किँदै प्रचण्डले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन घुमाउरो पाराले संकेत गरे।

प्रचण्डले भने,‘हिजो कोअर्डिनेशन केन्द्र र मालेमा सीपी मैनाली चर्चित नेता भएपनि मदन भण्डारीलाई महासचिव स्वीकार गरिएको थियो। मदन भण्डारी ओरिजनल माले र ओरिजनल कोअर्डिनेशन केन्द्र पनि होइन। तर, उहाँलाई स्वीकार्न मालेले पनि संकीर्णता देखाएन।’

कार्यक्रममा प्रचण्डले आफू नेकपाको अबको महाधिवेशनमा मदन भण्डारी नै भएको बताए। उनले विचार मिलेरै तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएको बताए। पार्टी एकतामा २१ औं शताब्दी र जनताको जनवाद दुबैलाई स्वीकार गरिएको प्रचण्डको भनाइ छ। 

प्रचण्डले पार्टीभित्र एकले अर्कोलाई निषेध गर्न थाले पार्टी एकता सुदृढ हुन गाह्रो पर्ने बताए। उनले भने,‘हामी अगाडि बढ्न खाेजीरहेका छाैं। अगाडि बढ्दा इतिहासलाई मेटेर हाेइन, इतिहासका राम्रा कुरालाई आत्मासात गरे अझ माथि उठ्ने हाे।’  

प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको बिकल्प नरहेको बताए। उनले यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। 

एकतालाई आँखाको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले भने,‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ।’

उनले दुई पार्टीको एकतालाई जनताले समेत अनुमोदन गरिसकेको स्मरण गर्दै पार्टी एकतालाई अहिले आएर अप्ठ्यारो मान्नु आत्मघाती र प्रतिगमनकारी विचार हुने दाबी गरे।

प्रकाशित मिति: १९:२६ बजे, शुक्रबार, कात्तिक ८, २०७६