Kathmandu Press

कास्की २ मा रवीन्द्र अधिकारीकी पत्नी विद्याको नाम सिफारिस

पोखरा, कात्तिक ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विद्या ....

कास्की २ मा रवीन्द्र अधिकारीकी पत्नी विद्याको नाम सिफारिस

पोखरा, कात्तिक ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विद्या भट्टराईको नाम सिफारिस गरेको छ। 

जिल्ला कमिटीको शुक्रबार पोखरामा बसेको बैठकले भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो।  भट्टराई दिवङ्गत नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्। 

पार्टीको बैठकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले नै अधिकारीकी पत्नी विद्यालाई कास्की २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। थापाको प्रस्ताव बैठकले सर्वसम्मतीले पारित गरेको थियो।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। 

विद्याले तत्कालीन अनेरास्ववियुको केन्द्रीय सचिव भएर काम गरिसकेकी छिन्। प्राध्यापन पेशामा संलग्न विद्या हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छिन्। 

प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। 

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, कात्तिक ८, २०७६