विभेदका पर्खाल विस्तारै भत्किँदैछन् : मन्त्री अर्याल
काठमाडौं, कात्तिक ८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मााकुमारी अर्यालले विभेदका पर्खालहरू द्रुतगतिमा भत्किँदै गएको बताए....

काठमाडौं, कात्तिक ८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मााकुमारी अर्यालले विभेदका पर्खालहरू द्रुतगतिमा भत्किँदै गएको बताएकी छिन्।
मानवअधिकारका लागि महिला, एकल महिला समुहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिलाका प्रगतिका बाधक विभेदका पर्खालहरू भत्किँदै गएको बताएकी हुन्।
'समाजमा रहेको विभेदहरू कम हुँदै गएको प्रसंगमा महिलाहरूमाथिको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदहरू कम हुँदै गएका छन्', मन्त्री अर्यालले भनिन्। हिजो परनिर्भर बनेका महिलाहरू आज आत्मनिर्भर बन्नेतर्फ अगाडि बढिरहेको भन्दै उनले सिप सिकेर आत्मनिर्भर बन्ने अभियानमा दह्रो संकल्पसहित अगाडि बढ्न आग्रह गरिन्। घरभित्र बस्ने महिलाहरू व्यवसायी बन्दै गएको भन्दै उनले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताइन्।
मन्त्री अर्यालले सीप सिकेर व्यवसायिकतामा जान जोड दिइन्। उनले भनिन्, 'अबको बाटो उत्पादन, व्यवसायिकताकै बाटो हो। कृषिमा काम गर्नेहरूले जमिन एकै ठाउँमा एकीकरण गरेर व्यवसायिक रूपमा सामूहिकतामा ठूला फार्महरू सञ्चालन गरौं।'











