नेकपाको सिट खोस्ने दाउमा कांग्रेस, कहाँ कुन दलको कति मत?
काठमाडौं, कात्तिक ८ : प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभाको एक, प्रदेशसभाको त....
काठमाडौं, कात्तिक ८ : प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका ४८ गरी ५२ पदका लागि निर्वाचन हुनेछ।
उपनिर्वाचनको तयारी निर्वाचन आयोगले अघि बढाइसकेको छ। निर्वाचनको मिति नजिकिँदै गएपछि शुक्रबारदेखि नै लागू हुने गरी आयोगले निर्वाचन आचारसंहिता पनि जारी गरिसकेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरुले उम्मेदवार छान्ने तयारीमा जुटेका छन्।
उपनिर्वाचनमा मुख्यगरी सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच नै मुख्यरुपमा प्रतिपस्पर्धा हुने पक्का छ। नेकपा आफूले जितेका ठाउँमा उपनिर्वाचनमा पनि आफ्नो वर्चश्व कायमै राख्ने ध्याउन्नमा छ भने विपक्षी दल कांग्रेस सिट खोस्ने दाउमा छ।
विषेशगरी संघीय सांसदका लागि चुनाव हुने कास्की क्षेत्र नम्बर २ र प्रदेश सांसदका लागि चुनाव हुने भक्तपुर क्षेत्र नम्बर १ ‘क’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा हुने उपनिर्वाचनमा कांग्रेस यसअघिको हारको बदला लिने दाउमा छ। यसअघि यी चारै वटा क्षेत्रमा नेकपाको गठबन्धन विजयी भएको थियो।
कांग्रेस यी सबै क्षेत्रमा उपचुनाव जितेर संघ र प्रदेश दुवैमा केही सिट थप्ने गरी ‘जित्ने उम्मेदवारलाई टिकट दिने’ रणनीतिमा छ। कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचन जित्ने गरी उम्मेदवार छनोट गर्ने रणनीति बनाएका छन्। स्रोतका अनुसार यसअघि भागवण्डामा उम्मेदवार छनोट गरिएपनि यो पटक भने गुट नहेरी जित्ने उम्मेदवारलाई टिकट दिने तयारी छ।
कास्की, भक्तपुर, दाङ र बाग्लुङ चारै जिल्लामा आकांक्षी मध्य कसको जनमत कस्तो छ ? भन्ने कुरा जाँच्ने काम अहिले भइरहेको छ। ‘उपचुनावमा उम्मेदवार छनोटको आधार गुटगत भागवण्डाबाट हुँदैन,’ एक पदाधिकारी काठमाडौंप्रेससँग भने, ‘चुनाव जित्ने उम्मेदवार पहिचान गर्न पार्टीको संयन्त्रले काम गरिरहेको छ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु बैठकमा नआएपछि बिहीबार बोलाइएको बैठक बस्दै नबसेर कात्तिक १४ गतेसम्मका लागि स्थगित भएको छ। योबीचमा सहमतिमै उम्मेदवार छान्ने प्रयास गरिने छ। कांग्रेस केन्द्रीय कार्यालयले जिल्लाबाट सिफारिस आउँदा जनमत पनि बुझेर पठाउन मौखिक निर्देशन जिल्ला कार्यसमितिहरुलाई दिएको छ।
कास्की–२ मा ८ हजार ५ सयको मतान्तर
दिवंगत रवीन्द्र अधिकारीको क्षेत्र कास्की–२ मा कांग्रेसले उपचुनाव नहार्ने उम्मेदवार को हो भन्दै जिल्लाका नेताहरु बोलाउँदै परामर्श लिँदै आएको छ। त्यहाँका स्वतन्त्र व्यक्तिहरुसँग पनि लोकप्रिय उम्मेदवार को हुन सक्छ भन्दै जनमत बुझ्ने काम भइरहेको ती पदाधिकारीको दाबी छ। ८ हजार ५ सयको मतान्तरमा अधिकारीले अघिल्लो पटक चुनाव जितेका थिए।
कांग्रेस त्यो मतान्तरको दूरी घटाउने उम्मेदवार खोजेर चुनाव लडाउने रणनीतिमा छ। गत चुनावमा लोकप्रिय नेता अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। कांग्रेस उपचुनावमा सत्तापक्षलाई पराजित गरेर प्रतिपक्षको शक्ति देखाउने रणनीतिमा छ। अहिले सरकार अलोकप्रिय भएको र नेकपाका नेताहरु एकपछि अर्को काण्डमा मुछिन थालेकाले त्यसलाई चुनावी हतियार बनाउने कांग्रेसको रणनीति छ।
विवेकशीलको भोट ८ सय ४३ मात्रै
कास्की क्षेत्र नम्वर २ मा गत चुनावमा विवेकशील साझा पार्टीका उम्मेदवारले ८ सय ४३ मत मात्रै ल्याएका थिए। विवेकशीलका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ल्याएको मत दुई प्रतिशतभन्दा कम हो। अहिले साझा विवेकशीलले रजनी केसीलाई उम्मेदवार बनाएको छ।
भक्तपुरमा कांग्रेस र नेकपाबीच २८ सय मत अन्तर
दुई वर्षअघि भएको निर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ को (क) मा तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मतका साथ विजयी भएका थिए। त्यतिबेला कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए। कांग्रेस र नेकपा गठवन्धनबीच २ हजार ८ सय १२ मतको मात्रै अन्तर थियो।
बाग्लुङमा नेकपा र कांग्रेसबीच ३ हजार मतान्तर
बाग्लुङ क्षेत्र नम्वर २ को (ख) मा दुई वर्षअघि भएको निर्वाचनमा कांग्रेस र नेकपाको गठबन्धनबाट चुनाव उठेका जनमोर्चाका उम्मेदवारबीच तीन हजारको मात्रै मतान्तर थियो। त्यतिबेला जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका जीतबहादुर शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए। विजयी र निकटतम प्रतिद्वन्द्वीबीचको मतान्तर ३ हजार २ सय ६० मात्रै थियो।
दाङमा नेकपा र कांग्रेसबीच ६ हजार मतान्तर
उपचुनाव हुने दाङ क्षेत्र नम्वर ३ को (ख)मा तत्कालीन एमालेका उत्तरकुमार वली २३ हजार ९ सय ७० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत ल्याएका थिए। दुई उम्मेदवारबीच ६ हजार ४ सय ३५ मतको अन्तर थियो।






