वर्ल्डलिंकले भित्र्यायो एक अर्ब ३५ करोड विदेशी लगानी, सर्वसाधारणका लागि शेयर जारी गर्ने
काठमाडौं, कात्तिक ८ : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले बेलायती लगानी भित्र्याएको छ। वर्ल्डलिंकमा बेलायती कम्पनीले एक अर्ब ३५ करोड रुपैयाँ लगा....
काठमाडौं, कात्तिक ८ : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले बेलायती लगानी भित्र्याएको छ। वर्ल्डलिंकमा बेलायती कम्पनीले एक अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
बेलायतको विकास वित्त संस्था (सीडीसी) ग्रुपले नेपालमा पहिलो पटक वर्ल्डलिंकको १० प्रतिशत इक्वीटी खरिद गर्न लागेको छ। बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको विकास वित्त संस्था (सीडीसी) ग्रुपले लामो समयदेखि विश्वका विभिन्न देशमा लगानी गर्दै आएको छ। लगानीका विषयमा वर्ल्डलिंक र सीडीसीबीच सम्झौता पनि भएको छ।
कम्पनीको सेवालाई थप क्षेत्रमा विस्तार गर्न र गुणस्तर बढाउन सहयोग पुग्ने वर्ल्डलिंकका प्रबन्ध निर्देशक दीलिप अग्रवालले बताए। नयाँ लगानीले कम्पनीलाई विश्वस्तरीय बनाउन सहयोग पुग्ने अग्रवालको विश्वास छ।
वर्ल्डलिंक अन्तर्गत अहिले तीन हजार कर्मचारी कार्यरत छन्। अब लगानी थप भएपछि एक हजार रोजगारी सिर्जना हुने जनाएको छ। अहिले नेपालमा केबल इन्टरनेट सेवा प्रदायकमा वर्ल्डलिंक अग्रस्थानमा छ।
साधारण शेयर जारी गर्ने
वैदेशिक लगानी भित्रिएसँगै वर्ल्डलिंकले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणलाई ४९ प्रतिशत शेयर दिने प्रक्रिया समेत सुरू गरेको जनाएको छ।
यो कम्पनी स्थापना भएको २४ वर्ष भएको छ। यसमा दिलिप अग्रवाल मुख्य लगानीकर्ता रहेका छन्। देशभर आफ्नो सञ्जाल विस्तार गरेको कम्पनीमा दुई हजार आठ सय कर्मचारी कार्यरत छन्।
वर्ल्डलिंकले सार्वजनिक निजी कम्पनीको रुपमा संचालन गर्न केही महिनाअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएको थियो। यस विषयमा वर्ल्डलिंक कम्पनीले भने प्रक्रिया पूरा नभएकाले बोल्न मानेन।
इन्टरनेट सेवा प्रदायक दुई दर्जन कम्पनी
नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी दुई दर्जन छन्। तिमध्ये वर्ल्डलिंक भने सार्वजनिक कम्पनीमा रुपान्तरित हुँदै सर्वसाधारणलाई शेयर जारी गर्न लागेको हो।
अहिले भायो नेट, क्लासिक टेक, मार्कन्टाइल, ब्रोन्ड व्यान्ड, ब्रोडलिंक नेटवर्क, इस्ट लिंक, वाइम्याक्स, हिमायलन वेभ सर्फर, एभरेष्ट लिंकलगायत दुई दर्जन निजी क्षेत्रका कम्पनी रहेका छन्।
त्यस्तै, सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।






