Kathmandu Press

आलमलाई थप आठ दिन हिरासतमा राख्न अदालतको अनुमति

रौतहट, कात्तिक ८ : बम विस्फोटमा घाइते भएका युवकलाई इटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई थप आठ दिन....

आलमलाई थप आठ दिन हिरासतमा राख्न अदालतको अनुमति

रौतहट, कात्तिक ८ : बम विस्फोटमा घाइते भएका युवकलाई इटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई थप आठ दिन हिरासतमा राखिने भएको छ।

शुक्रबार जिल्ला अदालत, रौतहटले अनुसन्धानका लागि थप आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले कार्यालय खुल्ने वितिक्कै अदालतमा पेश गरेको थियो। उनलाई दोस्रो पटक अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको हो।

अनुसन्धान नसकिएकाले थप आठ दिन हिरासतमा राख्न अदालतबाट अनुमित लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भूपेन्द्र खत्रीले बताए। ‘अनुसन्धान पूरा भएको छैन। अझै केही समय लाग्ने भएकाले हिरासतमा राख्न अनुमति लिएका हौं,’ उनले काठमाडौं प्रेससँग भने।

आलमलाई असोज २६ गते पक्राउ गरिएको थियो। उनलाई १२ वर्ष अघिको घटनामा पक्राउ गरिएको हो। पूर्वमन्त्री समेत रहेका आलम गत निर्वाचनमा रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, कात्तिक ८, २०७६