Kathmandu Press

यमपञ्चक अर्थात् तिहार सुरु, काग तिहार भोलि

काठमाडौं, कात्तिक ८ : कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू हुँदै छ। शुक्रबार बेलुकी यमदीपदान सुरू गर्नुपर्ने नेपाल प....

यमपञ्चक अर्थात् तिहार सुरु, काग तिहार भोलि

काठमाडौं, कात्तिक ८ : कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू हुँदै छ। शुक्रबार बेलुकी यमदीपदान सुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरू हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ। तिथिको घटबढका कारण यस्तो भएको उनले बताए।

यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए। कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ। बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ।

त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने समितिले जनाएको छ। कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ।

बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ।  

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए। यसै दिनदेखि नेपाल संवत् ११४० सुरू हुन्छ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै परेको छ। कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ।

झिलिमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न सुरू भइसकेको छ।

प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, कात्तिक ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्