Kathmandu Press

डोजर मालिकसहित तीनविरुद्ध ज्यान मुद्दा

बैतडी, कात्तिक ८ : सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको घटनामा डोजर मालिकसहित थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

डोजर मालिकसहित तीनविरुद्ध ज्यान मुद्दा
फाइल फोटो

बैतडी, कात्तिक ८ : सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको घटनामा डोजर मालिकसहित थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलालाई डोजरले हुत्याएको थियो। त्यस घटनामा चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो। डोजर चालकमाथि मंगलबार नै मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। यस अघि डोजर चालक किशोर बोहरालाई मङ्गलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्वाल्लेकमा सडक निर्माणका क्रममा कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो। डोजरले हुत्याउँदा घाइते भएकी गौरी कोहलपुरमा उपचारपछि ‘डिस्चार्ज’ भएकी छन्।

चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जग्गाधनी पक्षले आरोप लगाएको छ। तर, निर्माण पक्षले भने जग्गाधनी पक्षले पहिला ढुङ्गामुढा गरेको आरोप लगाएको छ। दुवै पक्षबीच झडप हुँदा गौरीसहित आठ जना घाइते भएका थिए।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन टोलीसमेत गठन गरेको थियो। मङ्गलबार गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ। समितिले बुधबार स्थलगत अध्ययनसमेत गरेको थियो।    

सत्ता र शक्तिका आडमा डोजर काण्ड : कांग्रेस

बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली कांग्रेसको केन्द्रीय छानविन समितिले निष्कर्ष निकालेको छ। कांग्रेसले गठन गरेको केन्द्रीय छानविन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जिकिर गरेको छ।

डोजर मालिक आफूले दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उनलाई सत्ताकै मान्छेहरुले डोजर चलाउन दबाब दिएको बुझिएका छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताए। ‘डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरुको संलग्नता रहेको छ,’ उनले भने। ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसको ठहर छ।

पत्रकार सम्मेलनमा संयोजक थापाका अनुसार, जग्गाधनी असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाइदिनु’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको छ। सडक निर्माणका लागि कुनै बजेट र योजना बिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको कांग्रेसको छानविन टोलीले बताएको छ।

घटनामा सडक निर्माण पक्षले जबर्जस्ती गर्न खोजेको संयोजक थापाले बताए। ‘दुवै पक्षबीच सहमति नभई डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ,’ उनले भने।

ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि कांग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी सङ्कलन गरेको थियो।

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, कात्तिक ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्