कम्युनिष्ट सरकारका गतिविधिबाट जनता वाक्क भइसके : पौडेल
काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारसँग आमजनता असन्तुष्ट रहेको बताएका छन्।&nb....
काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारसँग आमजनता असन्तुष्ट रहेको बताएका छन्।
वित्तीय संस्था कर्मचारी संघले काठमाडौंमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकारले जनताका अपेक्षा पूरा गर्न नसकेकाले अब कांग्रेस सुध्रिन जरुरी रहेको बताएका हुन्।
‘गत निर्वाचनमा जनताले कम्युनिष्टलाई दुई तिहाइ बहुमत दिएर पठाए। तर, उनीहरुले जनताका अपेक्षा पूरा गर्न सकेका छैनन्। जनताले कम्युनिष्टको विकल्प खोज्न थालेकाले अब कांग्रेस नेतृत्व लिन सुध्रिनु पर्छ,’ पौडेलले भने।
कम्युनिष्टहरुको भनाइ र गराइमा आकाश जमिनको फरक पर्ने व्यवहारबाट आमनागरिक वाक्क भइसकेको पौडेलको भनाइ छ।
पौडेलले कम्युनिष्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु अहिले कानून बनाउँदा समेट्ने प्रयास गरिरहेको बताए। पौडेलले कम्युनिष्ट सरकार कानून बनाउँदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको बताए।
‘संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने क्रममा हामी लोकतन्त्रका मुल्य मान्यतामा कम्युनिष्टसँग धेरै लडाइ गरका थियौं। उनीहरुले हामीसँग बहस गर्न नसकेर लोकतन्त्रका मूल्यमान्यता स्वीकार गरेका थिए। अहिले कानून बनाउँदा ती लोकतान्त्रिक मुल्य मान्यतालाई नियन्त्रणको प्रयास गरिरहेका छन्,’उनले भने।
वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्रीको सबैभन्दा आर्दश पुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको र चिनियाँ राष्ट्रपति सी चिनफिङको सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने सम्झौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको बताए।
पौडेलले भेनेजुएला र सी पथलाई आर्दश मान्ने कम्युनिष्टको नियत स्पष्ट भएको बताए। उनले कांग्रेस भएसम्म लोकतन्त्रका मुल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने स्पष्ट पारे।






